Shittalpati
एनपीएलको उपाधि जनकपुरलाई

पाल्पा, नेपाल प्रिमियर लिगको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि हात पारेको हो ।

सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन बनाए । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । यो सँगै मिलान्था प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी बनेका छन् । उनले १० इनिङ्समा २ अर्धशतक सहित २९३ रन बनाएका छन । पावर प्लेको ६ ओभरमा ७१ रन जोडेको जनकपुरले पहिलो १० ओभरमा १ सय ५ रन जोडेर लक्ष्यतिर लम्किएको थियो । पहिलो विकेटका रूपमा कप्तान आसिफ शेखलाई गुमायो । आसिफले २४ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाए।  उनी सैफ जैबको बलमा ब्रान्डन म्याकमुलेनको हातमा क्याच भए । दोस्रो विकेट १० औं ओभरको अन्तिम बलमा मोहम्मद मोसिनको विकेट गयो । उनलाई इशान पाण्डेले बोल्ड आउट गरे। उनले ८ बलमा १ छक्कासहित ९ रन बनाए।   १२औं ओभरको पहिलो बलमा लाहिरु मिलान्थाले जीवन दान पाए । उनले दिपेन्द्र सिंह ऐरीको बलमा उनकै हातबाट क्याच मिस भएका हुन् । त्यतिबेला ६६ रनमा खेलिरहेका थिए ।  उनको विकेट जनकपुरको तेस्रो विकेटका रूपमा स्कट केग्गेलिनबाट कट एण्ड बोल्ड भए । उनले तेस्रो विकेटका लागि हर्ष थाकरसँग ६१ रनको साझेदारी बनाए । जेम्स निसामले भने ७ बलमा ४ रन बनाउँदै दीपेन्द्र सिंह ऐरीबाट बोल्ड भए। पाँचौं विकेट आकाश त्रिपाठी रन आउट भए। उनी २ रनमै रन आउट भए ।

हर्ष थाकर ३० रन र मयन यादव २ रनमा अविजित रहे । सुदूरपश्चिमका लागि स्कट केग्गेलिन, सैफ जैब, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान १÷१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरका लागि ओपनर सैफ जैबले सर्वाधिक ६९ रन बनाए । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए । ब्रान्डन म्याकमुलेन र हर्मप्रित सिंहले समान १४–१४ रन बनाए । स्कट केग्गेलिनले १३ रन बनाउँदा अन्य कोहीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमले पहिलो १० ओभरमा बिनाक्षति ९७ रन बनाएर आक्रामक सुरुआत गरेको थियो । १३ औं ओभरमा जैबले ६२ रनमा जीवनदान पाएका थिए । किशोर महतोको बलमा उनले लङअनमा गरेको प्रहार शेर मल्लले क्याच छोड्न पुगेका थिए ।

फेयर प्ले अवार्ड लुम्बिनीलाई

यस्तै नेपाल प्रिमियर लिगको फेयर प्लेको अवार्ड लुम्बिनी लायन्सले जितेको छ । फाइनल खेलपछि उक्त पुरस्कारको घोषणा गरिएको हो । खेल अवधिभर अनुशासित खेल प्रदर्शन गरेको टोलीलाई उक्त पुरस्कार दिइन्छ । फाइनल खेल हेर्न त्रिवि क्रिकेट मैदान परिसरमा दर्शकको भीड लागेको थियो । खेल सुरू हुनुअघि मैदान छिर्न दर्शकहरूको तँछाडमछाड चलेको थियो । प्रहरीलाई दर्शकको भीड व्यवस्थापन गर्न हम्मे–हम्मे परेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update