पाल्पा, पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले देशको आर्थिक विकासमा सहकारी भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
सांसद गैरेले तीनखम्बे अर्थनीति अन्र्तगत सहकारीको विकास विना देशको आर्थिक क्रान्ती सम्भव नभएको भन्दै सहकारीको विकास अहिलेको आवश्यकता रहेको उल्लेख गरे । राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहेका उनले सहकारी, सरकारी र निजी क्षेत्रको एकता समन्वय र सहकार्यबाट नै देशमा आर्थिक चलायमान हुने धारणा व्यक्त गरे । सांसद गैरेले अहिले देशमा सकारात्मक कुरा भन्दा पनि नकारात्मक कुरालाई बढी प्रचार–प्रसार गरेर देशका युवाहरुलाई विदेश धकेल्ने प्रयास भइरहेकोमा चिन्ता व्यक्त गरे । उनले भने ‘केही सहकारीले गरेको बदमासीको कारण तानसेन बचत जस्ता राम्रा सहकारीले गरेका राम्रा कामहरू समेत ओझेलमा परेका छन् । यस्ता राम्रा काम गरेका सहकारीहरुको प्रचार हुनुपर्छ ।’ गलत काम गर्ने सहकारीलाई राज्यले नियमन गरी कानुनी कारवाही गर्नुपर्नेमा सांसद गैरेले जोड दिए । आफू पनि सहकारी संस्थाको शेयर सदस्य भएकाले सहकारी संस्थालाई व्यवस्थित रुपमा सञ्चालनको लागि आफ्नो पनि सहयोग रहने उनले बताए ।
पूर्व उद्योगमन्त्री एवं संस्थाका सेयर सदस्य सोमप्रसाद पाण्डेले सहकारीबाट नै स–सानो पुँजी संकलन गरी उद्यमशीलता र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताए । सहकारीबाट देशको आर्थिक स्थितिलाई सबल र मजबुत बनाउन सकिने र सानो–सानो पुँजीबाट स–साना उद्योग व्यवसायलाई ठाउँ–ठाउँमा सञ्चालन गर्न सकिने उनले उल्लेख गरे । आगामी दिनमा सहकारीले ऋण र बचतसँगै उत्पादन र आयआर्जनको विविधिकरणमा जोड दिनुपर्ने पूर्व मन्त्री पाण्डेले बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री एवं संस्थाका सेयर सदस्य खेमबहादुर सारु मगरले सहकारी भनेको स–सानो पुँजी संकलन गर्ने सेयर सदस्यहरूलाई फाइदा पुग्ने गरी काम गर्ने एउटा अभियान भएको बताए । तानसेन बचत तथा ऋण सहकारी संस्थाले यो अभियानमा इमान्दारिता पूर्वक काम गर्दै आएकोमा खुसी व्यक्त गरे । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सहकारी संस्था भित्र रहेका सबै सेयर सदस्यको रकमदेखि भूमिका बराबर भएको नमुना सहकारी रहेको बताए ।
सभामा संस्थाका अध्यक्ष भोजराज पोखरेल (रामजीले) वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको सेयर पूँजी १ करोड १० लाख, सहकारी बैंकमा २ लाख ८५ हजार लगानी रहेको जानकारी दिए । सहकारीको बचततर्फ १२ करोड २२ लाख, ऋण लगानीतर्फ १३ करोड ३१ लाख, र आर्थिक वर्ष २०८०/०८१ मा ऋण असुली २ करोड ६४ लाख २५ हजार ६ सय ४४ रहेको छ । संस्थाले कुल आम्दानी २ करोड ६५ लाख ७२ हजार ५ सय ३५ रुपैयाँ गरेको छ । उसले शुद्ध नाफा १४ लाख १४ हजार ९ सय ४८ गरेको छ । यसैगरी संस्थाको जगडा कोषमा ४७ लाख २९ हजार ५ सय ३९ र अन्य कोषमा ९५ लाख ३१ हजार १ सय ४८ रहेको अध्यक्ष पोखरेलले बार्षिक प्रतिवेदनमा मार्फत जानकारी दिए । संस्थाले आफ्ना कुनै सेयर सदस्यको मृत्यु भएमा १० हजार काज क्रिया खर्च नगद उपलब्ध गराउने काम गर्दै आएको छ भने क्यान्सर प्यारलाइसिस जस्ता जटिल प्रकृतिका रोग लागेमा पनि अवस्था हेरिकन आर्थिक सहयोग गर्ने निति लिएको छ । साधारणसभामा उत्कृष्ट बचतकर्ताको रूपमा सेयर सदस्य नारायणी शर्मा घिमिरे र उत्कृष्ट ऋणीको रूपमा दुग्ध व्यवसाय गर्दै आएका सेयर सदस्य यादवराज घिमिरे र सबैभन्दा बढी सेयर सदस्य बनाउने कार्यसमिति सदस्य भरतराज न्यौपाने पुरस्कृत भएका छन् ।
संस्थाले सेयर सदस्यहरु ठाकुरप्रसाद गैरे राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा निर्वाचित , कमलराज तिमिल्सेना नेपाल पत्रकार महासघंको अध्यक्षमा निर्वाचित, खेम बहादुर सारु लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा नियुक्त , डा. राम बहादुर राउत लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त र विष्णुबहादुर कार्की पाल्पा व्यापार संघको अध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाईसहित सम्मान गरको छ ।संस्थाका कोषाध्यक्ष दीपक विश्वकर्माले आर्थिक वर्ष २०८०/ ८१ को आय–व्यय विवरण र आगामी वर्ष २०८१/०८२ को अनुमानित आय विवरण प्रस्तुत गरेका थिए । लेखा समितिका संयोजक गुराँस आत्रेयले आर्थिक गतिविधी सम्वन्धी बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै आवश्यक सुझावहरु साधारणसभामा पेश गरेका थिए ।
सभामा सहकारीका प्रमुख सल्लाहकार भेषराज सुवेद, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, संविधानसभा सदस्य नारायणी शर्मा, संस्थाका पूर्व अध्यक्षहरु धनेन्द्रराज घिमिरे, देवीप्रसाद बस्याल यादव रायमाझी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, सेयर सदस्य लक्ष्मी ढुङ्गाना र सन्तोष खनाल लगायतले संस्थाले बार्षिक रुपमा गरेका क्रियाकलाप बारे चर्चा गरेका थिए । भोजराज पोखरेल( रामजी)को अध्यक्षता, उपाध्यक्ष शान्ति बस्याल पाण्डेको स्वागत र सचिव धनेश्वर बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।