Shittalpati
सहकारी ठगी प्रकरण : लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता

पोखरा, जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा आइतबार मुद्दा दर्ता गरेको हो ।

मुद्दा दर्ताका लागि लामिछानेलाई बिहान अदालतमा उपस्थित गराइएको थियो ।  उनीविरुद्ध तीन कसूरमा मुद्दा दर्ता भएको छ । लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएका छ । लामिछानेमाथि सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार ५ रुपैयाँ बिगो माग गरिएको छ । सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा लामिछानेकी श्रीमती निकिता पौडेलको नाममा रहेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ । प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो । लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update