Shittalpati
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’

पाल्पा, इसाई धर्मावलम्बीले बुधबार (२५ डिसेम्बर) धुमधामका साथ क्रिसमस मनाएका छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले पाल्पासहित देशभर ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका हुुन् ।

इसाई धर्मगुरु जिसस क्राइस्टले मानवजातिको मुक्तिका लागि आहूति दिएको सम्झनामा क्रिसमसे मनाउने गरिन्छ । पाल्पामा रहेका विभिन्न चर्चलेहरु आ–आफ्नै तवरले उक्त पर्व मनाएका हुन् । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित जिल्लाका चर्चमा प्रार्थना लगायत विभिन्न कार्यक्रम गरी मनाइएको चर्चहरुले जनाएका छन् ।

बुधबार बिहानैदेखि जिल्लाका विभिन्न ठाउँमा रहेका चर्चहरुमा भेला भएर क्रिस्चियन धर्मावलम्बीले क्रिसमस डे मनाए । क्रिसमसका उपलक्ष्यमा जिल्लाका तानसेन चर्च , हेब्रोन चर्च, गोशेन चर्च , ख्रीष्टय आराधाना केन्द्र चर्च लगायतका सयभन्दा बढी चर्चहरुमा परमेश्वरको वचन, भजन, प्रवचन र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको भन्ने मान्यता रहेको छ । येशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले यसको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा यस दिनलाई मनाउने गरिएको हो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवका रूपमा मनाउन थालिएको हो । यस दिन सबैलाई सार्वजनिक बिदा दिइएको थियो । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको जनाइएको छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेका छन् ।

हुन त क्रिसमसलाई ईसाईहरुको पर्व भनिन्छ, यद्यपि यो पर्वलाई सबै धर्म मान्ने व्यक्तिहरुले उत्तिकै उल्लासका साथ मनाउन थालिसकेका छन् । नेपालमा मात्र होइन, सम्पूर्ण विश्वमा नै क्रिसमसलाई धुमधामका साथ मनाइन्छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update