पाल्पा, पाल्पाको सदरमुकाम तानसेन बजारको मुटु भनेर चिनिने मखनटोल क्षेत्र विगत दुई बर्षदेखी सुनसान बन्यो । पाल्पा दरवार सग्रहालयको बाहिरी परिसर क्षेत्रमा रहेका ५२ वटा व्यापारिक सडक तानसेन नगरपालिकाले डोजर लगाई हटाएपछी विगत दुई बर्षदेखी मखनटोल सुनसान बनेको थियो । ‘महिला नेतृत्वको बजार, संयुक्त अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका तानसेन नगरपालिकाको सहयोगमा बजारक्षेत्रलाई चहलपहल बढाउन, दरवार क्षेत्रमा आन्तरिक तथा बाय पर्यटक भित्र्याउन, मखनटोल टोल विकास संस्थाले महिलाद्धारा सञ्चालित साप्ताहिक मेला सञ्चालन गरेको छ ।
महिलाहरुलाई बाहिरी परिवेशमा घुलमिल बनाउन, उनीहरुको सिप र जागरलाई व्यवसायिक बनाउन, आयआर्जनमा क्रियाशिल बनाउन, दुई चार हजार आफै कमाउने, आफै खर्च गर्न सक्ने बनाउन, महिलाहरुलाई आर्थिक कारोवार गर्न /गराउन अभ्यास गराउन, महिलालाई उद्यमी बनाउने अभियानका साथ पाल्पा दरवारको बाहिरी क्षेत्रमा साप्ताहिक मेला सञ्चालन गरिएको संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले बताईन् । साप्ताहिक मेलामा महिलाहरुले उत्पादन गरेका हेन्डिक्राप्ट, विभिन्न सरसमानहरु, ढाकाका कपडाहरु विक्रिमा राखिएका थिए । महिलाहरुले बनाएका विभिन्न अचार, रोटीका परिकार, विभिन्न चिजबिचका सिन्की तितउरा, जाम जुस, जेली लगायतका सरसमानहरु उपभोक्ताले मन पराए । महिलाहरुले परम्परागत परिकार बनाउँदै विक्रि गर्न भ्याइ नभ्याइ थियो । मेलामा महिलाहरुले विभिन्न किसिमका खानाका परिकारहरु यःमरी, सेल, बटुक चुकाउनी, तथा विभिन्न नेवारी परिकार विक्रि वितरण गरेर महिलाहरुले आयआर्जनको अभियान चलाएको संस्थाकी सचिव सरस्वती राजभण्डारीले बताइन् । मेलामा महिलाहरुले अर्गानिक कोदो, फापर, गहुँ लगायतका परिकार, स्थानीय चलनचल्तीका परिकारहरु, घरमै बसेर निर्माण गरेको स–साना उद्योगबाट उत्पादित सरसमान झिनियाँ रोटी, अचार, तितउरा, सिन्की गुन्द्रक, धुप बत्ती, टपरी, ढाका, मसला, बेसार लगायतका सरसमानहरु विक्रि गरी आम्दानी गरेको मखनटोल टोल विकास संस्थाकी पूर्व अध्यक्ष ज्योती राजभण्डारीले बताईन् । मखनटोलटोल टोल विकास संस्थाका अगुवाइमा तानसेनका सबै टोलविकास संस्थामा आवद्ध भएका महिलाहरुले प्रत्येक हप्ताको शुक्रबार मेलामा सहभागी भई उत्पादित सरसमान विक्रि गर्न पाउने व्यवस्था तानसेन नगरपालिकाले मिलाएको छ । मेलामा स्टल राख्न र प्रवेश शुल्क निःशुल्क गरिएको छ । उक्त मेलामा पुरुषले भने स्थटल राखेर विक्रि गर्न भने पाइँदैन । तानसेन नगरपालिकाले युनोस्पको सहकार्यमा मखनटोल क्षेत्रलाई महिलामैत्री नमुना शहर बनाउने अभियानमा लागेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । महिलालाई फाइदा हुने गरी नै महोत्सव आयोजना गरिएको तानसेन–४ का वडाध्यक्ष हेमन्तराज शाक्यको भनाई छ । यो अभियानबाट तानसेनमा महिला उद्यमी वृद्धि हुने, महिला शसक्तिकरण हुने, आयआर्जन तथा खर्चमा महिलाको अधिकार सुनिश्चितामा वृद्धि हुने, स्थानीयस्तरमा रोजगारी वृद्धि हुने, बजार चलायमान हुने, पर्यटकीय गतिविधिमा वृद्धि हुने अपेक्षाका साथ कार्यक्रम शुरु भएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । सञ्चालित मेलामा २४ वटा स्टल रहेको सबै स्टलमा काम गर्ने देखी बेचविखन गर्नेसम्म सबै महिलाहरु मात्र रहेका थिए ।
साप्ताहिक मेलाले महिलाहरुलाई सक्रिय तथा जागरुप बनाउने, आर्थिकरुपमा सम्पन्न बनाउने, महिलाहरुमा आपसी छलफल र एकता कायम हुने मेलामा सहभागी टक्सार स्टार समुहकी तुम्ला बज्राचार्यले बताईन् । प्रत्येक शुक्रबार आयोजना हुने महोत्सवले स्थानीय समुदायलाई आर्थिक रूपमा सबल बनाउने मात्र नभई समाजमा आपसी सहकार्य र मेलमिलापको भावना वृद्धि गर्ने, स्थानीय कलासंस्कृति, भेषभुषा, पहिचान खानपानमा समेत टेवा दिने विश्वास लिइएको छ ।