पुष पन्ध्र पुष महिनाको १५ गतेका दिन मनाइने चाड हो । पश्चिम नेपालका विभिन्न ठाउँहरूमा यो चाड मनाउने गरिन्छ । पुष पन्ध्र गतेको राती न सुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर रात बिताउने परम्परा छ । यो चाड आफ्नो आफ्नो घरमा नै मनाइन्छ । विशेष गरेर पुष पन्ध्रमा चामलको पिठोको मोटो रोटी (भुच्चाने रोटी) बनाएर आगोको भुबरामा पकाएर खाने चलन छ ।
सबै चाडपर्वको आ–आफ्नै महत्व र मौलिकता रहेको छ । प्रत्येक चाडपर्वको उद्देश्य फरक–फरक छ । जसरी भौगोलिक रुपमा विविधतायुक्त रहन्छ त्यसैगरी संस्कृतिमा पनि विविधतायुक्त रहने गर्दछ । त्यस्तै पुस १५ अन्य समुदायमा पनि विशेष रहने गर्दछ । पुस १५ मा खाजा खाने प्रचलन रहेको छ । घरपरिवारमा मिठो मसिनो खाने, साथीभासँंग वनभोज जाने प्रचलन देखिन्छ । यसैगरी मगर युवा–युवतीहरूले पुस १५ को दिनमा खुवा खाएर आफ्नो जीवनसाथी रोज्छन् । गुरुङहरूले दिन लामो हुँदै जाने पुस पन्ध्रलाई नयाँ वर्ष मान्छन् । यसलाई तिब्बती भाषामा लोसार भनिन्छ । ‘लो’ भनेको वर्ष र ‘सार’ भनेको नयाँ हो । यही ल्होसारलाई नेपालका थकाली तामाङ र गुरुङले ल्होछार भन्छन् । ‘ल्हो’ बाट ‘लो’ र ‘सार’बाट ‘छार’ भएको छ । लोसार तिब्बती भाषाको शब्द हो र ल्होछार चाहिँ गुरुङ भाषाको शब्द हो । पहाडी समुदायमा पुसे १५ लाई पर्वकै रूपमा लिने गरिएको पाइन्छ ।
विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ । पहिले–पहिले तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट पुस १५ मै पिक्नीक अर्थात् ‘वनभोज’ खाने गरिन्थ्यो । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने प्रचलन पनि छ । पुस १५ मा घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘वनभोज’ जाने र मीठामीठा खानेकुरा खाने चलन पनि विगतदेखि नै चल्दै आएको हो । यस्ता पर्वहरूले आमनेपालीलाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेल्छन् । यसर्थ आज परेको पुस १५ पर्वले धार्मिक सहिष्णुता, एकता र बन्धुत्व कायम गर्न सकोस् सबैमा शुभकामना !