Shittalpati
‘तमु ल्होसार’ पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

पाल्पा, गुरुङ समुदायले  आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । सांस्कृतिक पर्व ल्होसार पछिल्लो समय पहिचानको पर्व बनेको छ । विदेशिएका आफन्त घर फर्किन्छन् । इष्टमित्र भेटघाटका लागि आउँछन् । पछिल्लो समय सेतो टीका लगाएर आशिर्वाद लिने चलन सुरु भएको छ । नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । कृषि बाली स्याहार्ने पर्वलाई ल्होसार पर्वमा रूपान्तरण गरियो, जसलाई तोला ल्होसार भनिन्छ । अहिले गुरुङले आफूले मनाउँदै आएको ल्होसारलाई तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन् । यो नामाकरण उनीहरूले गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ । ल्होसार कृषिसँग सम्बन्धित छ । तिब्बतमा इसापूर्वको सातौँ शताब्दीतिर बुद्ध धर्म प्रवेश हुनुअगाडि भिन्न रूपमा ल्होसार मनाउने गरेको इतिहास पाइन्छ । तिब्बतमा किसानहरूले वर्षे बाली स्याहार्ने बेला कृषि बाली पर्व (हार्भेस्ट फेस्टिभल) मनाउने गर्थे । पछि त्यही पर्वलाई ल्होसारमा रूपान्तरण गरियो । त्यस सन्दर्भमा यो पर्व किसानको पर्व हो, जसलाई तोला ल्होसार भनिन्छ ।  पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update