पाल्पा, देशभर आज ‘पुसे पन्ध्र पर्व मनाइँदैछ । विभिन्न समुदायका नागरिकहरुले परम्परा अनुसार नै ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाउन लागेका हुन् । हरेक वर्ष पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ ।
संस्कृतिको मौलिक पहिचान बोकेको पुस १५ अर्थात् पुसे पन्ध्र पर्वका परम्परागत मौलिकता पछिल्लो समय पाल्पा र गुल्मीमा भने हराउदै जान थालेको छ । परापुर्वकालदेखि प्रचलनमा रहेको पर्व पछिल्लो समय आधुनिकताका नाममा आझेलमा परेको हो । अघिल्लो पुस्ता तथा समुदायमा यो पर्वको निकै महत्व रहेता पनि अहिले त्यस्तो पाइँदैन । पहिलेको समयमा पुसे १५ विधिवत रुपमा हरेक समुदायमा फरक–फरक ढंगले मनाईने गरिन्थ्यो । कुनै ठाँउमा रातभर गाउँखाने र दन्त्य कथा सुन्ने तथा सुनाउने, कुनै ठाँउमा रातभर मिठामिठा परिकार खाएर जाग्राम बसेर यो पर्व मनाइन्थ्यो । पाल्पा र गुल्मीमा पहिले पहिले पुसे पन्ध्र निकै उल्लाहसका साथ मनाउने गरेको पुराना पुस्ताका व्यक्तिहरुको भनाई छ । पुसे १५ मा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने गरिएको पाल्पा रैनादेवी छहराकी कमला रायमाझी बताउँछिन् । माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरिएको उनको भनाई छ । रायमाझीले भनिन्, ‘माटोमुनि उम्रिने चिज खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति आउने भएकाले आजका दिन प्रायः सबैले खाने चलन छ, यसदिन सबै परिवार एकै ठाउँ बसेर रमाइलो गरिन्छ ।’ गुल्मी इस्मा गाउँपालिका –२ का गोविन्द पौडेलले पनि पहिलेको पुस्ताजस्तो गरी नयाँ पुस्ताले पुसे १५ नमनाएको बताउँछन् । पहिले पहिले तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट पुस १५ मै पिक्नीक अर्थात् ‘वनभोज’ खाने गरिन्थ्यो । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत पौडेलको भनाइ छ । उनले पर्वको मौलिकता हराएकोमा चिन्ता व्यक्त गरे । यो पर्वको छुट्टै मौलिकता भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै गएको उनको बुझाई छ । ‘पहिलाको जस्तो गाउँका सबै जना गाउँ खाने कथा भन्ने व्यक्तिको घर आगनमा जम्मा भै आगो बालेर कथा सुन्ने गर्दथे । तर हाल रात काटने र कथा सुन्ने चलन हराउदै जान थालेको छ’, पौडेलले भने, ‘टेलिभिजन र इन्टरनेटको बढ्दो प्रभावका कारण पुराना मौलिक परम्परा हराउँदै जान थालेका छन ।’ ‘पुसे पन्ध्रको रात काटनका लागि एक ठाउँमा जम्मा हुनेहरु बीच गाउँको विकास, सामाजिक, धार्मिक र सांस्कृतिक कार्यका बारेमा सरसल्लाह हुन्थ्यो’, उनले भने, ‘एक आपसमा बैमनस्यता, रिस, राग भएपनि सबै भुलाएर सबै जना एक ठाउँमा जम्मा हुन्थे । जसमा सामाजिक सद्भाव देखिन्थ्यो, अहिले नयाँ पुस्तामा त्यस्तो छैन् ।’ पुसे पन्ध्रको दिन यहाँका प्रायः सबै नागरिक घरमा लगाएको र जंगलमा पाइने तरुल खनेर उसिनेर खान्छन् ।
आज तरुल खानैपर्ने मान्यता अनुरूप पाल्पा, गुल्मी लगायत देशैभरका बजार क्षेत्रमा आइतबारदेखि तरुल किन्नेको घुइँचो लागेको थियो । नेपालका केही केही स्थानमा गाउँखाने र दन्त्य कथा सुन्ने तथा सुनाउने मौलिक पर्वका रुपमा ‘पुसे १५’ लाई लिने पनि गरिन्छ । यस दिन राति कथा तथा लोककथा सुन्दै र सुनाउँदै मीठा मसिना परिकार खाएर रातभर जाग्राम बस्ने गरिन्छ । लोकसंस्कृतिको मौलिक पहिचान बोकेको पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा पुसे १५ मनाउने गरिन्छ । यो पर्वमा दिनमाभन्दा रातिको समयमा एक ठाउँमा भेला भएर मीठो मसिनो खाँदै कथा तथा दन्त्य कथा सुनाउनुलाई विशेष महत्वका रुपमा लिने गरिएको छ । यो पर्वमा विवाह भएर गएकी छोरीलाई पनि घरमा बोलाई भव्य रूपमा स्वागत सत्कार गर्ने गरिन्छ ।