Shittalpati
बढ्दो चिसोबाट बचौं

जाडो क्रमशः बढिरहेको छ । पुस आधाआधीदेखि माघ आधाआधीसम्म जाडो यामका लागि कष्टकर समय हो । पुसको आधा महिना सकिदा  चिसो अत्याधिक रुपमा बढ्दै गएको छ । त्यसैले यतिबेला सबैका लागि यो समय गाह्रो हुने गर्छ । अझ रोगी, अशक्त, ज्येष्ठ नागरिक, बालबालिका थप समस्यामा पर्ने गर्छन् ।

बढ्दो जाडोसँग सामना गर्न अत्यावश्यक सामग्री र हैसियत नहुँदा खासगरी विपन्न समुदायका व्यक्ति/परिवार चिसोबाट बढी नै सताइनु स्वाभाविक हो । अहिले मुलुकभर जाडो बढिरहँदा विशेषगरी तराई क्षेत्रमा यसको असर बढी परेको खबर सार्वजनिक भइरहेका छन् । तराई धेरै विपन्नको बसोबासस्थल हो । त्यसैले बढ्दो चिसो र शीतलहरका कारण तराईमा यही समुदायका व्यक्ति बढी प्रभावित भएका खबर आइरहेका हुन् । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न आग्रह गर्दै आएका छन् । जाडोमा खासगरी हातखुट्टा, अनुहार, छाला फुट्ने, फुस्रो हुने हुन्छ । यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ । जाडो मौसम सुक्खा हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ । यस्तो अवस्थामा खानपान र रहनसहनमा समेत उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

झोलपदार्थ खानेकुराका साथै हरियो सागपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्दछ । चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ । घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ । भिटामिन डिको कमी हुन नदिन घाम ताप्नु अनिवार्य नै रहेको चिकित्सक बताउँछन् । चिसो मौसममा फ्रिजमा राखेका खानेकुरा खान हुँदैन । चिसो मौसममा रुघाखोकी, निमोनिया जस्ता समस्या देखापर्न सक्छ । जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नुपर्छ । यसले शरीरको तापक्रम सन्तुलनमा राख्छ । चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ । जाडोको समयमा नाक, कान र घाँटीको एलर्जी पनि हुन्छ । श्वासप्रश्वास तथा छातीमा समस्या देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्नेजस्ता रोगले सजिलै आक्रमण गर्न सक्छ । त्यसैले रोग लाग्नु भन्दा रोग लाग्नै नदिनका लागि चिसोबाट बच्नुनै उत्तम उपाय हो । 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update