Shittalpati
नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै छैन् डा. भण्डारी
पुल उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता चन्द्र भण्डारी । तस्बिर : तिलाचन पाण्डे

गुुल्मी, नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै नभएको बताएका छन् । मंगलबार गुल्मीको कालीगण्डकी गाउँपालिका र पर्वतको बियादी गाउँपालिका जोड्ने पक्की पुलको उद्घाटन गर्दै नेता भण्डारीले नेतृत्वमा इच्छा शक्ति नभएकै कारण मुलुकले विकासमा फड्को मार्न नसकेको बताएका हुन् ।

राजनीतिक नेतृत्वले चाहेमा देशको विकास सम्भव रहेको उल्लेख गर्दै  उनले त्यस्तो नेतृत्व अहिले आउन नसकेको उल्लेख गरे ।  नेता भण्डारीले भने ‘राजनीतिक दलको नेतृत्व गर्ने व्यक्ति पाँच वर्षमा विकास गर्न नसके  जानै हुँदैन । ’ देश विकास गर्ने भन्दा पनि ब्यक्ति बन्ने सोच भएका कारण नै नागरिकको इच्छा अनुसार विकास हुन नसकेको उनको तर्क छ ।

तत्कालिन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौबीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५ सयमा सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण ब्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो । पछि सम्झौता भएको कार्यालय नै खारेज भएर तत्कालिन समयमा सो कार्यालयसँग सम्झौता भएका योजनाहरु हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको  थियो ।  २०७९ सालमा उक्त पुलको सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वय हुने गरी दायित्व हस्तान्तरण भएको हो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले लामो समय पछि उक्त पुलको निर्माण कार्य सम्पन्न भएको बताए । सार्वजनिक खरिद नियमवालीको १२ औँ संशोधन अनुसार २०८१ साल असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने ब्यबस्था रहेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update