Shittalpati
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व 

पाल्पा, रायमाझी कूलदेवता तानसेन नगर समितिमा नयाँ नेतृत्व आएको छ । समितिको तानसेनमा भएको २१ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट केशव रायमाझीको अध्यक्षतामा नयाँ  नेतृत्व चयन भएको हो ।

आर्यभञ्ज्याङ् निवासी रायमाझी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । जसको उपाध्यक्ष चिना रायमाझी ,सचिवमा खिमबहादुर रायमाझी ,कोषाध्यक्षमा नारायण रायमाझी चयन भएका छन् । यस्तै सदस्यहरुमा इन्द्र बहादुर रायमाझी, राधादेवी रायमाझी, विष्णु रायमाझी, सिर्जना रायमाझी, सीता रायमाझी, पुनम रायमाझी र जीवन रायमाझी रहेका छन् ।  अधिवेशनको रायमाझी कूल देवता समितिका केन्द्रीय अध्यक्ष एवं पूर्व सिडिओ टेकविरजंग रायमाझीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै रायमाझीले देशभरका समितिहरुमार्फत रायमाझी बन्धुहरुलाई एउटै छाता भित्र ल्याउने काम गर्दै आएको बताए । उनले केन्द्रीय समितिले विधान  बनाउनेदेखि वंशावली निर्माण गर्ने काम गर्दै आएको बताउँदै देशभरका समितिहरुलाई बलियो र चलायमान बनाउने कार्यमा समेत नेतृत्व लागेको बताए । उनले पूर्खाले आर्जेका सम्पतिहरुको खोजतलास गरी तिनीहरुको संरक्षण गर्ने र  मुलुक निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएका रायमाझी बन्धुहरुको खोजी गरिने  धारणा व्यक्त गरे । 

समितिका केन्द्रीय सल्लाहकार यादवबहादुर रायमाझीले देशैभर रायमाझी कूलदेवताको समिति गाउँ, नगर, जिल्ला र केन्द्रमा समेत रहेको बताउँदै रायमाझी बन्धुहरुलाई समितिमा ल्याई बन्धुत्वको भावनालाई जागृत गराएको बताए । उनले कमजोर अवस्था भएका बन्धुहरुलाई सहयोग गर्ने र सम्पन्न भएकाहरुबाट सहयोग जुटाउने काममा देशैभरका समितिहरु परिचालन भएको बताए । कार्यक्रममा समितिका केन्द्रीय सदस्यहरु हरी रायमाझी, झलकबहादुर रायमाझी, बुद्धि रायमाझी, समितिका जिल्ला अध्यक्ष कमल रायमाझी, नेपाल  पत्रकार महासंघका जिल्ला सचिव रामचन्द्र रायमाझी, समितिका सदस्य इन्द्रबहादुर रायमाझी लगायतले  रायमाझी बन्धुुहरुको सुुखःदुखमा काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरे । समितिका कार्यवाहक अध्यक्ष चिना रायमाझीको अध्यक्षता, सदस्य मञ्जु रायमाझीको स्वागत, सचिव खिमबहादुर रायमाझीको सञ्चालनमा कार्यक्रम भएको हो । 

 
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update