तानसेन बजारमा ग्रामीण क्षेत्रबाट समेत बजार गर्न मानिसहरु आउन छाडे । विभिन्न छिमेकी जिल्लाको व्यापारिक केन्द्रको रुपमा रहेको तानसेन बजारमा चहल पहल घट्यो । त्रिभूवन बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरले तानेको हजारौंको विद्यार्थी सख्या पनि अचेल खुम्चिएर घरहरु समेत खाली रहन पुगे । वर्षौदेखी पर्यटनको नारा दिने तर यसका लागि रणनीतिक पहलहरु समेत नहुने र आन्तरिक तथा बाह्य पर्यटकको आगमन समेत नहुँदा तानसेन बजारले ठूलो पिडा ब्यहोरेको चिन्ता सबैले व्यक्त गरे पनि के गर्ने र कसरी जाने भन्ने बारेमा उत्साहजनक र पहलका लागि बहस समेत हुन छोडेको धेरै भयो । अहिले तानसेनले व्यहोरेको पिडा यही हो भनेर धेरैले भन्ने गरे पनि यो पक्तिकार यही मात्र कारण मान्न तयार छैन । किनकी तानसेनले व्यहोरेको पिडा तानसेनका वासिन्दा मात्रको होइन यसको प्रभाव समग्र पाल्पाले व्यहोरेको निष्कर्षमा यो पक्तिकार रहेकोले केही पहलहरुलाई यहाँ प्रदर्शन गरिएको व्यवहारले हाम्रो चिन्ता र नियतलाई प्रष्ट पार्ने छ भन्ने लागेका कारण यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ । प्रारम्भ गरौ । एउटा सामान्य तर गहन सन्देश प्रवाह गर्ने उदारणबाट । केही महिना अगाडि आफ्नो निजि भ्रमणले अमेरिका पुगेका सर्जु लिगलले अमेरिकाको क्यालीफोर्नीया पुग्दा अचम्म मानेर मलाई कल गरेर भन्नु भयो हैन यो डाँडाले मान्छेलाई कति आकर्षण गराएको हो ? दिनमा हजारांै मान्छे आउँछन् फोटो खिच्छन् ,जान्छन् । यति फोटो खिच्नका लागि मात्र आउनेहरुको भिड र गाडीहरुले घण्टौ टाफिक जाम गराउने रहेछ । उहाँले सोही क्रममा उल्लेख गर्नु भयो हाम्रो श्रीनगरडाँडालाइ पनि यस्तै हेर्ने र फोटो खिच्ने आकर्षक स्थान बनाउन सकिदैन र ? प्रश्न मलाई राख्नुको कुराले सम्झायो कि गत वर्ष मैले यही सोच अनुसार तानसेन ७ मा पर्ने लामीडाँडालाइ तानसेन पृष्ठभूमिमा राखेर फोटो खिच्ने ठाउँ बनाउन गरिएको प्रयत्नका बारेमा । त्यसैगरी आफ्नो फेसबुुक पेजमा एउटा छोटो भिडियो राख्नु भएको थियो र लसएन्जलसको घुमाइका क्रममा एउटा सानो तालमा पुगेर तालमाथि रहेका निजी घरहरु र पर्यटन व्यवसायका बारेमा आफ्नो फेसबुुक पेजमा उल्लेख गरेको कुराले पर्वास तालको स्मरण गरायो ।
यी कुराहरु सुन्दा निजि सुनिए पनि यसको अर्थ छ किनकी सर्जु लिगल त्यस्तो व्यक्ति हो जसले वर्षौदेखी बन्द गरेर राखेको फिलिमहल तानसेन बजारमा मानिसहरुको आवत जावत नै नभएको देखेर करोड भन्दा बढी खर्चगरी फिलिम हल पुनः सुचारु गरेको धेरैलाइ जानकारी पनि छैन होला । यसर्थ यो टिप्पणीकारले यी दुई उदारणहरु उहाँको मनले बोलेको ठानेर यो लेख तयार पार्ने कोसिस गरेको हो । अब प्रवेश गरौं श्रीनगरको आकर्षण थप्ने सन्दर्भमा चर्चा गर्दा अहिले श्रीनगरमा तानसेन लेखिएको होडिङ बोर्डका बारेमा प्रस्तावक तत्कालिन सांसद समक्ष यो पंतिकारले प्रस्ताव गरेको थियो बोर्ड बनाउनु भन्दा लेजरकिरणमार्फत तानसेन लेख्ने सम्भावना बारे हेरौं किनकी यसो गर्न सम्भव भयो भने नयाँपाटीबाट तानसेन देखिने मात्र होइन यो त सम्भवत बुटवलबाट पनि देख्न सकिन्छ । तर यो प्रस्तावबारे खासै कुनै महत्व राखेको वा पहल भएको देखिएन या सुनिएन किनकी ५० लाखको रकम खर्च गर्नु थियो र अन्तमा ३० लाखको हाराहारीमा खर्च गरी हाल तानसेन लेखेर राखिएको छ । यो खर्च र बनावटको औचित्यताका सन्दर्भमा समिक्षा पनि होला । यसैगरी श्रीनगरडाँडाका सन्दर्भमा सल्लाको रुखका विकल्पमा चौडापाते तर रंगिन रुख विरुवा लगाउने पहलका सन्दर्भमा अध्ययन पहलका लागि पहल गरिएको मात्र होइन श्रीनगर वनलाई पर्यावरण र पर्यापर्यटनको रुपमा हेरिनुपर्दछ भन्ने मान्यतालाई बहसमा ल्याउन आवश्यक छ । यसो गर्न सकियो भने पनि श्रीनगरको सौन्दर्यतालाई पृष्ठभूमिमा राखेर फोटो खिच्ने गरी लामीडाँडाको विकास हुने अपेक्षा गर्न सकिन्छ । यही सम्भावनालाई मध्यनजर राख्दै गत आवको आषाढ महिनामा समाजसेवी शान्ति झेडीले अकस्मात भन्नु भयो यो वृक्षारोपणको समयमा तानपामा पर्ने सिद्धार्थ राजमार्गमा रंगीन फूलहरुको विरुवा लगाऔं । उहाँसँगको छलफलले एउटा सोंच आयोकी यो काम त लामीडाँडामा गर्न सकियो भने तानसेनलाई पृष्ठभूमि बनाई फोटो खिच्नेहरुको भिड लाग्न सक्छ । अहिले सिद्धार्थ राजमार्ग हुँदै पोखरा जाने भारतीय पर्यटकहरु र अन्य देशका पर्यटकहरुका लागि एक आकर्षक थलो लामीडाँडा बनाउन सकिन्छ भन्ने सोच अनुरुप त्यहाँका जग्गा धनीहरुको खाजीको काम भइ रहेको छ । केही लगानीकर्ताहरुले स्थानको भ्रमण गरी जग्गाको खोजी भइरहेको छ । नपा समक्ष मौखिक रुपमा कम्तीमा एकवटा सार्वजनिक शौचालय निर्माण र सोही स्थानमा सूचना केन्द्र निर्माणका लागि पहल गर्न जरुरी भएको अनुरोध गरिएको छ । सम्भवत लामीडाँडालाइ भोली रेष्टोरेन्ट र भ्यूप्वाइन्टको रुपमा परिचयमा आउने निश्चित छ । पाल्पाको एक विशिष्ट विशेषता बोकेको प्रभास तालको आफ्नै विशिष्टिकृत महत्व र सम्भावना बोकेको सिमसार क्षेत्र हो । यहाँ उपलव्ध जैविक विविधताले हाल तालको बारेमा रहेको बुझाई भन्दा निकै गहिरो अर्थ र महत्व बोकेको ताल पनि हो ।
तालमा २ प्रकृतिका जग्गा रहेका छन् । एउटा जिल्ला समन्वयको नाममा रहेको करिव ४० रोपनी र बाँकी जग्गा निजि जग्गा धनीले आफ्नो रहेको दावी गरेका छन् । तर जो जसको जग्गा भए पनि प्रभास हाइवेदेखी झण्डै बागखोर सम्म फैलिएको सिमसारलाई तालको रुपमा विकास गरेर निजि जग्गाधनीहरुसँंग एउटा अवधारणामा ताल र ताल सेरोफेरोमा पर्यटकीय गतिविधि चलाउन सकिन्छ भनेर केही वर्ष अगाडिदेखी पहल गरिएको भए पनि स्थानीय सरकारको समन्वयात्मक एवं सहयोगी भूमिका निर्वाह नगरिदिदा अगाडि बढ्न सकेको थिएन । सायद यो वर्ष गुरुयोजना निर्माणको कार्य अगाडि बढेको खण्डमा ताल र सेरोफेरोको रुप मात्र होइन आर्थिक सामाजिक रुपान्तरणमा समेत योगदान देखिने छ । यसबाट पाल्पामा तालका कारण आन्तरिक मात्र होइन बाह्यपर्यटकको आगमनमा ठूलो योगदान गर्ने छ । उल्लेखित उदारणका अतिरिक्त रानीमहल (रानीघाट दरबार)मा राणाकालिन विशेषगरी खड्ग सम्शेरका परिवारहरुबाटै सो समयमा प्रयोग गरिने सामानहरु संकलन गर्ने र हालको स्वरुपमा निकै फरक वा आकर्षक बनाउने प्रस्ताव पनि नपाद्धारा विचाराधिन अवस्थामा राखेको छ भने गत वर्ष दरवार प्रांगढमा आयोजित पाल्पाका लागि नयाँ बिचभलिबल सम्पन्न गर्ने क्रममा तानपा प्रमुख र बगनासकाली अध्यक्षले संयूक्तरुपमा संकल्प र प्रतिवद्धता गरेको निरन्तरता र संरक्षण कार्यले प्राथमिकता पाउने छ भन्ने विश्वास गरिएको छ । यसको निरन्तरताले विदेशी पर्यटकको आगमनमा आकर्षण थपिने मात्र होइन यस गतिविधिबाट पाल्पाबाटबिच भलिवलका लागि राष्ट्रिय टिम तयारी हुने खेलप्रेमीहरुको अपेक्षा रहेको देखिन्छ । पाल्पाले हालसम्म कल्पना गर्न नसकेको टुुँडिखेललाई प्रदेशस्तरिय खेल मैदान वा स्टोडियम बनाउने बहस र चर्चालाइ निभ्न नदिएर यस अगाडि टँडिखेल व्यवस्थापनको जिम्मा निजि क्षेत्रलाई दिने सन्दर्भमा सोच्नु पर्ने देखिन्छ । तानसेनमा अर्को एउटा नयाँ बहसको रुपमा आएको तानसेन पर्यटन विकास वोर्डको गठन र यसले तानसेन मात्र होइन पाल्पाको पर्यटन विकासमा नयाँ सोच र प्रभाव देखिने बारे समयमै सोच्न सकियो भने तानसेनको पर्यटनले न्याय पाउने छ । पाल्पा र विशेषगरी तानसेनको पर्यटनका सन्दर्भमा प्रदेश सरकारले बर्दिया, लुम्बिनी र तानसेनलाई गन्तव्यको रुपमा विकास गर्ने प्राथमिकता प्राप्त क्षेत्रको रुपमा लिएको नीतिलाइ पाल्पाले गहन रुपमा लिनुपर्ने देखिन्छ । यसैगरी केही महिना अगाडि तानसेनलाई मध्ययूगिन सम्पदायूक्त सहरको रुपमा विकास गर्ने बारे गरिएको अध्ययन प्रतिवेदनलाई महत्वका साथ कार्यान्वयनमा ल्याउने पहललाई सकारात्मक रुपमा लिन सक्नुपर्दछ । उल्लेखित यस्ता पहलहरु पाल्पा र तानसेनको पर्यटनलाई दीगोरुप दिने पहलहरु हुन । यी पहलहरु काल्पनिक नभइ केही चरणमा अगाडि बढेका पहलहरु हुन् । यसबाट अहिले विशेषगरी बजारले सामना गरिरहेको आर्थिक क्रियाकलापको समस्यालाई फरक ढंगले सम्बोधन गरी नयाँ आशा र विश्वास जगाउने विश्वास गर्न सकिन्छ ।
(लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।)