पाल्पा, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाल्पाको रामपुर नगरपालिका–५, बेझाँडमा निर्माण भएको गणेशमान स्मृति प्रतिष्ठान भवनको उद्घाटन गरेका छन् । नेपाली काँग्रेस रामपुर नगर कार्यसमितिले निर्माण गरेको भवनको राष्ट्रिय एकता तथा मेलमिलापको दिवसको अवसर पारेर मन्त्री सिंहले उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै उनले गणेशमानले देखाएको बाटोमा काँग्रेस हिड्न जरुरी रहेको बताए । उनले अहिलेको अवस्थामा काँग्रेका अग्रज व्यक्तिहरुको योगदानको कदर गर्दै उनीहरुले देखाएको बाटोमा हिड्नुुपर्नेमा जोड दिए । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका सिंहले लोकतान्त्रिक व्यवस्थालाई संरक्षण गर्नका लागि काँग्रेसले चुनौतीको सामाना गर्न तप्पर हुनु पर्ने बताए । उनले भने, ‘लामो संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र सम्वद्र्धन गर्नका लागि नेपाली कांग्रेस पार्टी भित्र आउँदै गरेको चुनौतीलाई सामाना गर्न सक्ने सक्षम, प्रभावकारी र व्यवस्थित पार्टीको रुपमा अघि बढाउनु पर्ने चुनौति सामना गर्न हामी तप्पर हुनु पर्छ ।’ संस्थापक नेताहरुले सिकाउनु भएको सिद्धान्त र आदर्शको कदर गर्दै विधि र नियम अनुसार संस्थागत रुपमा पार्टीलाई अघि बढाउन सके मात्र अग्रजहरुको योगदानको सम्मान हुने उनको भनाई छ ।
विपि कोइरालाले राष्ट्रिय एकता मै आँच आउने सम्भावना रहेकाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गरेको स्मरण गर्दै ।पुस १६ महत्वपूर्ण दिन भएको बताए । गणेशमानसिंह कांग्रेसले मात्र नभई सबै जनताले मान्ने नेता भएको बताउँदै उनको सम्मानमा भवन निर्माण भएकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले हार्दिकता सहितको एकतालाई कायम राख्दै मुलुकबाट नैरास्यता हटाउन तीनै तहका सरकार सक्रिय भएर लाग्नुुपर्नेमा जोड दिए । बेझाँड बजारमा निर्माण भएको पाँचतले भवन ७७ लाख ९३ हजार ४७८ रुपैयाँको लागतमा सम्पन्न भएको गणेशमान स्मृति प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले जानकारी दिए । २०७० सालमा शिलन्यास भएको भवनको २०७१ देखि निर्माण सुरु भएको थियो । सोही अवसरमा पूर्व रामपुर गाविस अध्यक्ष रामप्रसाद भट्टराई, भवन निर्माण समितिका संयोजक क्याप्टेन बहादुर थापा मश्राङ्गीलाई सम्मान गरिएको थियो । नगर सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षता, उपसभापति ज्ञान प्रसाद भण्डारीको स्वागत र सचिव चिरञ्जीवी सिग्देलको सञ्चालनमा कार्यक्रम भएको थियो ।