रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको मदाने गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) तयार गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक विकास कार्यक्रम अन्तर्गत प्रतीक चिन्ह (लोगो) निर्माण गरी प्रयोगमा ल्याउन लागेको हो ।
ईच्छुक व्यक्ति वा संस्थालाई पालिकाको लोगो तयार (डिजाइन) सम्बन्धि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ । लोगो तयार गर्ने ईच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात पेश गर्नुपर्ने भनी गाउँपालिकाले खुला रुपमा आह्वान गरेको हो । प्रतीक चिन्ह (लोगो) पालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, संस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्कने हुनुपर्ने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले बताए । लोगोमा सामाजिक सद्भभाव खलल पुग्ने तथा नेपालको सार्वभौमिकता, एकता र अखण्डतामा प्रतिकूल असर गर्ने कुनै संकेत प्रयोग गर्न पाइने छैन । नेपालको झण्डा र गाउँपालिकाको नाम अनिवार्य समावेश भएको हुनुपर्ने छ । प्रयोग गरिएका संकेत र चिन्हहरुको संक्षिप्त व्याख्या समेत गर्नुपर्नेछ । अन्यत्रबाट नक्कल नगरिएको हेर्दा आकर्षक तथा मदाने गाउँपालिकाको विशिस्टता एवम् मौलिक पहिचान झल्कने संकेतहरुको प्रयोग गरिएको हुनुपर्ने उनले बताए । लोगो बहुरंगमा छपाई गरी प्रयोगमा ल्याउन सकिने हुनुपर्नेछ । सफ्टकपी नै गाउँपालिकामा पेश गर्नुपर्ने छ । प्रतीक चिन्ह (लोगो) छनोट सम्बन्धी सम्पुर्ण अधिकार गाउँ कार्यपालिकाको रहेको छ । छनोट भएको प्रतीक चिन्हको सर्वाधिकार गाउँपालिकामा रहनेछ र गाउँपालिकाको अनुमति वेगर उक्त लोगो अन्यत्र प्रयोग गर्न नपाइने प्रमुख प्रशासकीय शालिकराम पन्थीले बताए । प्राप्त भएको प्रतीक चिन्ह (लोगो) मा कार्यालयको आवश्यकता अनुसार परिमार्जन गर्न अनुरोध गरिएमा परिमार्जन गर्नुपर्ने भन्दै उनले छनोट भएको लोगोलाई गाउँपालिकाले आफ्नो लोगोको रुपमा प्रयोग गर्नेछ र उक्त लोगोको डिजाइनकर्तालाई नगद २५ हजार रुपियाँ प्रदान गरिने बताए ।