Shittalpati
मेलमिलाप दिवसको अपरिहार्यता

काँग्रेस र यसका भातृसंस्था तथा शुभेच्छुक संस्थाले मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई नेपाली राजनीतिक कोर्स बदल्ने ऐतिहासिक दिनका रुपमा लिने गरिन्छ । बिपी कोइरालाले आजभन्दा ४९ वर्षअगाडि सोही दिन सबै खाले राजनीतिक एवं व्यक्तिगत जोखिमको परवाह नराखी देशको अस्तित्व संकटमा परेको महसुस गरी राष्ट्रियता र देशको अस्तित्वका लागि ‘राष्ट्रिय एकता र मेलमिलाप’को प्रस्ताव राखेका थिए । आफ्ना राजनीतिक सहपाठी गणेशमान सिंहका साथ दर्जनौँ कार्यकर्तासहित भारतको स्वनिर्वासनलाई परित्याग गर्दै बिपी स्वदेश फर्केको दिन । त्यही दिनलाई विगतदेखि नै नेपाली कांग्रेसले ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको हो ।

दिवसका दिन देशभर कार्यक्रमहरु भएपनि दिवस औपचारिकतामै सिमित बन्न पुगेको छ । बीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहे पनि अहिलेका नेताहरुले यसको अनुसरण भने गर्न सकिरहेका छैनन् । विशेषतः काँग्रेसले बीपीको नीतिलाई आत्मसाथ गर्नुपर्ने भएपनि त्यसो गर्न नसकेको काँग्रेस भित्रै गुनासो छ । काँग्रेसले मात्र हैन अन्य दलका नेताहरुले पनि बीपीको मेलमिलाप नीतिको अनुसरण गर्नुपथ्यो तर त्यसो गर्न सकेका छैनन् । बीपीको राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्र प्राप्त गर्ने र प्रजातन्त्रलाई आधार बनाएर राष्ट्रियतालाई अझ बलियो बनाउने नीति नै मेलमिलापको नीतिको सार थियो । तर नेताहरु यी कुराहरुबाट चुकेका छन् । राष्ट्रियता, काँग्रेसको स्थापनाकालीन प्रमुख राजनीतिक अडान र सिद्धान्त भएपनि व्यवहारमा त्यो कार्यान्वयन हुन नसक्नु दुखद् हो । राष्ट्रिय मेलमिलापको नीति काँग्रेसको एजेण्डा भएकाले पुरानो र ठूलो पार्टीको कारण राष्ट्रिय मेलमिलापको नीतिलाई नेपाली कांग्रेसले एक पटक गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । साँच्चै बीपीको मेलमिलापको नीतिलाई साकार पार्ने हो भने हिजोको जस्तो मेलमिलापको सन्दर्भ त आज नहोला तर पनि आन्तरिक लोकतन्त्रमा मेलमिलापको सन्दर्भ टड्कारो देखिन्छ । बिपीको मेलमिलापकै नीतिको सारमा मात्र देशले समृद्धिको सपना पूरा गर्न सक्छ । तसर्थ अहिलेको अवस्थामा राष्ट्रिय मेलमिलाप अपरिहार्य छ । 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update