बुटवल, बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ । खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैंठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो ।
१४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको छ । सोही नगरगान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति र समावेशी विषयहरु समावेश छन् ।
यस्तो छ नगरगान
चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल
रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।
बहु भाषा, धर्म संस्कार, थरिथरि जाति
वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।
मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो
घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।
कृषि, उद्योग, व्यापार र पर्यटनको लहर
देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।
प्राकृतिक सम्पदा र सभ्यताको खानी
सिद्धभूमी बुटवलवासी हामी भाग्यमानी ।
हाम्रो खस्यौली
राम्रो बटौली
प्यारो बुटवल ।