पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ । महासंघले शुक्रबार तानसेनको ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडामा अन्तक्र्रिया तथा वनभोज कार्यक्रम गरी दिवस मनाएको हो ।
कार्यक्रमको नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका शर्माले पत्रकार महासंघको गरिमालाई कायम राख्न नयाँ नेतृत्वलाई आग्रह गरेका छन् । उनले हरेक सामाजिक र राजनीतिक परिर्वतनमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको गौरवपूर्ण इतिहास रहेको भन्दै त्यसलाई कायम राख्नु अहिलेको नेतृत्वको जिम्मेवारीमा आएको उल्लेख गरे । २०४९ मा राजनीतिक परिर्वतनपछि पत्रकारिताको विकासक्रमले गति लिँदै गर्दा पत्रकारहरू संगठित भएर महासंघ स्थापना गरिएको उनको भनाई छ । संस्थापक अध्यक्ष शर्माले भने ‘हामीले मात्र शाखालाई गौरवमय शाखाको रुपमा लिएका छैनौं, मुलुक भर सबैले पाल्पा गौरवमय शाखा हो भनेका छन् । ’गौरमय शाखा भएकै कारण पाल्पा देशभरबाटै उत्कृष्ट शाखाको रुपमा दुई/दुई पटक पुरस्कृत हुन समेत सफल भएको उनले बताए । सबैको योगदानका कारण महासंघको ऐतिहासिक योगदान रहेको शर्माले उल्लेख गरे । उनले शाखालाई थप गौरबमय बनाएर सबै पत्रकारहरुलाई एउटै छाताभित्र राख्न नयाँ नेतृत्वलाई आग्रह गर्दै शुभेच्छा प्रकट गरे ।
महासंघका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले पछिल्लो समय पत्रकारिता क्षेत्रमा थुप्रै चुनौतीहरु रहेकाले त्यसलाई सामाना गर्न पत्रकारहरुले विश्वासनिय पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले समाजको ऐनाको रुपमा पत्रकारलाई हेरिने भएकाले सोही अनुरुप काम गर्न पत्रकारहरुलाई आग्रह गरे । महासंघका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले महासंघको विगतको इतिहासलाई नविर्सन नयाँ नेतृत्वलाई आग्रह गरे । महासंघका निवर्तमान अध्यक्ष रेखीराम रानाले पत्रकारिता क्षेत्रलाई स्वच्छ र निपष्क्ष बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको औल्याए । कार्यक्रममा प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की, नेपाल प्रेस युनियन पाल्पाकी अध्यक्ष मन गहिरे, आदीवासी जनजाती पत्रकार महासंघका नेता देव पचाभैंया लगायतले पत्रकारहरुको हकहितमा सशक्त भएर लाग्न महासंघलाई आग्रह गरे । सोही अवसरमा महासंघले मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सफल रुपमा सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर् याउने तीन जनालाई सम्मान समेत गरको छ । निर्वाचन समिति संयोजक गोविन्द भट्टराई, निर्वाचन समिति सदस्यहरु भरत आचार्य, अधिवक्ता जोगबहादुर वि.क.लाई प्रशंसा पत्रले सम्मान गरिएको हो । शाखा अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षता, उपाध्यक्ष मुक्ति प्रसाद न्यौपानेको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।