पाल्पा, बिमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको रिलायबल लाइफ इन्स्योरेन्स पाल्पा शाखाले गाउँ– गाउँमा बिमा सचेतना पुर्याउन थालेको छ । पछिल्लो समय बिमाको महत्व बढ्दै गएपछि शाखाले जिल्लाका १० वटै स्थानीय तहमा अभियान स्वरुप बिमा सचेतना कार्यक्रम पुर्याउन थालेको हो ।
शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी र युवाहरुलाई बिमा क्षेत्रको महत्व र त्यसका फाइदाबारे जानकारी गराई उनीहरुमार्फत गाउँ– गाउँमा बिमा सचेतना कार्यक्रम गर्न लागिएको रिलायबल पाल्पा शाखाले जनाएको छ । कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ रहने छन् । उनले स्थानीय समुदायमा पुगी बिमा बारे जानकारी गराउने छन् । लामो समयदेखि बिमा क्षेत्रमा आवद्ध रहेका बस्यालले बिमा के हो ?, यसको महत्व र आवश्यकताका बारेमा प्रशिक्षण दिने छन् ।
सो अभियानमा शाखा प्रमुख सुवास गैरे, मार्केटिङ म्यानेजर नवराज शर्मा र बिमा अभियान्ता गोपाल बस्यालले समेत बिमाका बारेमा आमागरिकलाई जानकारी गराउने छन् । जोखिम बहनका लागि बिमा महत्वपूर्ण रहेकाले आम नागरिकलाई यसको महत्व बारे जानकारी गराउन सचेतना अभियान सञ्चालन गर्न थालिएको शाखा प्रमुख गैरेले बताए । उनले भने ‘यो अभियानले स्थानीय समुदायलाई बिमा क्षेत्रमा चासो र समझदारी बढाउन मद्दत गर्नेछ ।’ गैरेले बिमा केवल वित्तीय सुरक्षा मात्रै नभई भविष्यमा आउने संकटका बेला सहारा पुर्याउने एक शक्तिशाली साधन भएको हो । बिमा क्षेत्रको महत्व र यसको आवश्यकतालाई बुझ्नका अभियान अत्यन्तै उपयोगी हुने मार्केटिङ म्यानेजर नवराज शर्माले विश्वास व्यक्त गरे ।