पाल्पा, यामाहा मोटरसाइकल तथा स्कुटरहरुका लागि पाल्पाको आधिकारीक विक्रेता ज्ञानेन्द्र अटो वर्क्सले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । वर्क्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तानसेन नगरपालिका–१२ बौघापोखराथोकस्थित सार्वजनिक प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
चिसो बढ्दै गएपछि वक्र्सले विद्यालयमै पुगेर ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । चिसो बढेकाले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीहरु बढी मात्रमा प्रभावित हुने भएकाले उनीहरुलाई केही राहत होस् भनि आइतबार एक कार्यक्रमकाबिच विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको वर्क्सका व्यवस्थापक विवेककाजी शाक्ले दिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष मेजर सिं केसी, वर्क्सका डाइरेक्टर विरेन्द्रकाजी शाक्य र ज्ञानेन्द्रकाजी शाक्यले संयुक्त रुपमा विद्यार्थीलाई कपडा हस्तान्तरण गरेका हुन् । कपडा हस्तान्तरण गर्दै प्रमुख अतिथि केसीले स्थानीय सरकारले ध्यान दिनुपर्ने कुरामा ज्ञानेन्द्र अटोले सक्रियता देखाएकोमा खुसी व्यक्त गरे । उनले अन्य संघसंस्थाहरुले पनि यस्तै सामाजिक उत्तरदायित्वतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । वर्क्सका डाइरेक्टर विरेन्द्रकाजी शाक्य र ज्ञानेन्द्रकाजी शाक्यले विगतदेखि नै आफुहरुले विपन्न, दृष्टिविहीन जस्ता असक्त विद्यार्थीहरुका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिर्दै जाने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले विद्यार्थीहरुप्रति वर्क्सले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै धन्यवाद दिए । अध्यक्ष नेपालको अध्यक्षता, प्रअ रामकुमारी थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।