पाल्पा, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता देखाएका छन् । लुम्बिनी प्रदेशमा चेतनारायण आचार्यको नेतृत्वको सरकारमा रहेका सारुले शपथ लिएदेखि नै स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गर्ने गरी सक्रिय रुपमा लागेका हुुन् ।
उनको सक्रियताले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारोन्मुख देखिएको छ । अहिले प्रदेशको स्वास्थ्य क्षेत्रमा थुप्रै सकारात्मक कामहरु भएका छन् भने केही प्रक्रियामै छन् । मन्त्री सारुले स्वास्थ्य सेवालाई नागरिक माझ सहज रूपमा पु¥याउन, अस्पताल तथा स्वास्थ्य संस्थाको सेवालाई नागरिकमैत्री बनाउने गरी नीतिगत तथा प्रत्यक्ष अनुभव हुने गरी सुधारका काम गरेको पाइएको छ । उनले केही समय अघि अस्पतालहरूको सेवा र लाग्ने शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न प्रदेश भित्रका सबै सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई निर्देशन गरेका थिए । उक्त निर्देशनपछि अहिले प्रदेश मातहतका सबै सरकारी अस्पतालहरूमा शुल्कसहितको नागरिक बडापत्र राखिएको छ । निजी अस्पतालहरुले पनि मन्त्रालयको निर्देशन अनुसार शुल्कसहितको नागरिक बडापत्र राख्न थालेका छन् । प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ को दफा २४ मा स्वास्थ्य संस्थाले सेवा शुल्क सहितका नागरिक बडापत्र अनिवार्य रूपमा सार्वजनिक गर्नु पर्ने उल्लेख छ । अहिले त्यही व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेपछि कार्यान्वयन हुन थालेको हो । तहगत स्वास्थ्य संस्थामा उपलब्ध सेवा–सुविधाहरू तथा सेवा शुल्क अनिवार्य रूपमा आमजनताले देख्न सक्ने गरी सार्वजनिक स्थानमा राख्न तथा वेबसाइटमा प्रकाशित गर्नुपर्ने र उक्त कार्य सम्पन्न गरी मन्त्रालयमा स–प्रमाण पठाउन निर्देशन जारी गरिएको थियो । सोही निर्देशन अनुसार अस्पताल तथा स्वास्थ्य संस्थाहरूले सेवाग्राहीले सहज रूपमा देख्न, पढ्न सक्ने गरी नागरिक बडापत्र टाँस गर्न थालेका छन् । नागरिक वडापत्र विशेषतःसेवा प्रदायक सार्वजनिक निकायहरुले आफूले प्रवाह गर्ने सेवा र सेवा प्राप्ति प्रक्रियाको सम्बन्धमा नागरिकप्रति गरेको लिखित प्रतिवद्धता हो । सार्वजनिक सेवा प्रवाहमा सार्वभौमसत्ताको नियम अनुसार, राज्यको मालिक भनेका सार्वभौमसत्ता सम्पन्न जनता हुन् । त्यसैले पनि राज्य र यसका निकायहरुले जनतालाई मालिक र आफूलाई सेवक मानी जनतालाई छिटो छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्नको लागि सधैं क्रियाशील हुनुपर्छ । सोही मान्यतालाई मन्त्रालयले आत्मसाथ गरेको छ ।
अस्पतालका सेवा–सुविधाहरू तथा सेवा शुल्क अनिवार्य रूपमा आमजनताले देख्न सक्नेगरी सार्वजनिक स्थानमा राख्न प्रदेश मातहतका सबै अस्पतालहरुलाई आग्रह गरिएको र सोही अनुसार अस्पतालहरुले नागरिक वडापत्र राख्न थालेको मन्त्री सारुले बताए । प्रशासनलाई जनउत्तरदायी तथा नागरिकमैत्री बनाउने, कानूनको शासनलाई प्रत्याभूति गर्ने, सार्वजनिक निकायहरुमा पारदर्शिताको प्रवद्र्धन गर्ने , सरकारी काम कारवाहीमा अनियमितता, ढीलासुस्ती र भ्रष्टाचार हटाउने, सेवा वितरण प्रणालीमा सुधारको लागि पृष्ठपोषण प्राप्त गर्ने, दण्ड पुरस्कार प्रणालीको विकास गर्ने र सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध भएर लागेको उनको भनाई छ । मन्त्री सारुले क्यान्सर, मुटुको भल्भ फेर्न र मृगौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई प्रदेश सरकारले दिने २ लाख सहयोग रकम सम्बन्धी जिल्ला स्वास्थ्य कार्यालयबाटै पाउने व्यवस्था गरेका छन् । यसले प्रदेश स्वास्थ्य मन्त्रालय धाउनु पर्ने बाध्यताको अन्त्य गरेको छ । यस्तै यस प्रदेशमा उच्च रहेको महिला, बालबालिका तथा किशोरीहरुमा कुपोषणको अवस्था सुधारका लागि कार्यविधि निर्माण, कुष्ठरोग र हात्तिपाइलेका कारण अपाड्ढता भएका नागरिकहरुप्रतिको भेदभाव अन्त्य तथा जिविकोपार्जन र आत्मनिर्भरता अभिवृद्धिका लागि स्वयं हेरचाह सम्वन्धी कार्यविधी स्वीकृत गरी कार्यान्वयनमा लगिएको छ । मन्त्री सारूले प्रदेशभरीका सरकारी अस्पताल र प्रयोगशालाहरूमा रक्त परीक्षण, एक्सरे र भिडियो एक्सरे लगायतका सेवामा लाग्ने शुल्क दरमा एकरुपता ल्याउने र बिस्तारै निजी क्षेत्रका स्वास्थ्य संस्थाले लिने परिक्षण शुल्कहरूमा समेत एउटै दररेट लागु गर्ने प्रयास गरेका छन् ।