Shittalpati
जाडो बढेपछि बन्द हुन थाले विद्यालय

बुुटवल, केही दिन यता तराईका जिल्लाहरुमा अत्याधिक रुपमा चिसो बढेको छ । अधिकतम तापक्रम कम हुँदा चिसो अत्यधिक बढ्दै गएको हो ।

चिसोका कारण विद्यालयमा आउने विद्यार्थीको संख्यामा कमी हुन थालेपछि रुपन्देही र कपिलवस्तुुका पालिकारुले विद्यालय बन्द गर्न सम्बन्धित विद्यालयहरुलाई निर्देशन गरेका छन् । विद्यालय आउने बालबालिकामा चिसोको कारण समस्या बढ्न सक्नेतर्फ सचेत हुँदै यस्तो निर्णय लिएको सम्बन्धित पालिकाहरुले जनाएका छन् । जाडो बढेपछि सोमबारसम्म रुपन्देहीका तीन र कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

रुपन्देहीका सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिकामा सोमबारदेखि जाडो बिदा दिइएको छ । सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म बिदा दिएका छन् । त्यस्तै कोटहीमाईले पुस २२ देखि पुस २९ गतेसम्म बिदा दिएका  छन् । शितलहरका कारण चिसो अत्याधिक बढेकाले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गर्न भनिएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाटीले बताए । उनका अनुसार हिउँदे बिदाबाट कट्टा हुने गरी गाउँपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको छ । बिदा दिइए पनि विद्यालयको प्रशासनिक कामकाज खुला राख्न भनिएको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तवले बताए ।

यस्तै कपिलवस्तुका कपिलवस्तु र शिवराज नगरपालिकाले पुस २१ देखि माघ ४ गतेसम्म बिदा दिएका छन् भने शुद्धोधन गाउँपालिकाले पुस २१ गतेदेखि पुस २९ गतेसम्म र मायादेवी गाउँपालिकाले पुस २१ देखि माघ ८ गतेसम्म बिदा दिएको छ । त्यस्तै बुद्धभूमि नगरपालिकाले पुस २१ देखि माघ ११ गतेसम्म तथा यशोधरा गाउँपालिकाले पुस २१ देखि माघ ४ गतेसम्म बिदा दिएको छ । हिउँदे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिइएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताए । ५÷६ दिनदेखि घाम नलागेर कठ्यांग्रिने चिसो बढेपछि विद्यालय बन्द गरिएको हो । दिउँसोसम्म हुस्सु लाग्दा हिँडडुल गर्न समस्या पर्ने र बालबालिकालाई विद्यालय आउन जान असहज हुने भएकाले बिदा दिइएको यहाँका पालिकाहरुले बताएका छन् । तराईमा बाक्लो हुस्सुका कारण विद्यालयका सवारी साधन चलाउनसमेत समस्या भएकाले जाडो बिदाका रूपमा विद्यालय बन्द गरिएको हो । जाडो बढेपछि जिल्लाका मुख्य बजारमा खासै चहलपहल छैन । सर्वसाधारण चोकचोकमा आगो तापेर बसिरहेका छन् । मानिस घरैभित्रै खुम्चिएर बसेका छन् । अत्यावश्यक कामबाहेक मानिसहरू घरबाहिर निस्किएका छैनन् । शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update