पाल्पा, आज नेपाल ज्योतिष परिषद स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
प्रत्येक वर्षको पौष २४ लाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसको रुपमा मनाउने गरिएको हो ।
ज्योतिष शास्त्रलाई खगोल शास्त्रसँग जोडेर आकाशीय पिण्डहरूको अध्ययनका रूपमा मात्र लिने गरिएको भए पनि ज्योतिष शास्त्रलाई आकाश र जमिन दुवैको मानवीय अवस्थितीसंगको सापेक्षिक अध्ययनका रूपमा लिइन्छ । नेपाल ज्योतिष परिषद् (नेपाल ज्योतिष परिषद्) नामक गैर नाफामूलक संस्थाका रूपमा विसं २०५५ साल पौष २४ अर्थात् जनवरी २४ सन् १९९९मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको हो । नेपाल ज्योतिष परिषद्को सबै प्रदेशहरूमा प्रदेश समिति र कार्यालयहरू रहेको पाइन्छ ।
वास्तवमा ग्रहको चालको सापेक्षिक असर मान्छेको जन्मको समय र ठाउँका आधारमा हुने अध्ययन नै ज्योतिष शास्त्र हो तर बृहत् रूपमा ज्योतिष शास्त्र यतिमै मात्र सीमित कहाँ हुन्थ्यो र ? पश्चिमाहरूले ज्येतिषशास्त्रलाई मेटाफिजीकल भनेर अभौतिक विषयको विज्ञानका रूपमा व्याख्या गरिएको पनि पाइन्छ तथापि पूर्वीय दर्शनमा भने कसमस अर्थात् ब्रह्माण्डको नै अध्ययन अनि ग्रह, नक्षत्र र तिनका प्रभावको अध्ययन गर्ने विशालकाय भौतिक विषयवस्तु विज्ञान मानिन्छ । विज्ञानको प्रारम्भिक स्वरूप नै ज्योतिष शास्त्रलाई लिइन्छ र आज यस शास्त्रको महिमा अनि महत्व बिश्वभरिनै गुञ्जायमान छ ।
हातमा केही थान पुस्तक अनि चन्दनको भार निधारमा हुँदैमा कोही ज्योतिष हुँदैन, चोक चौराहमा मन बहलाउन अनि गफ दिन मात्रै बसेका भविष्यद्रस्टाका स्वघोषित मनुवाहरू सबै ज्योतिष कहाँ हुन्छन् र ? ज्योतिष विद्या जान्नका लागि त्याग तपस्या अनि बलिदान चाहिन्छ । नेपालभरि विभिन्न विद्यापीठ अनि बिधाआश्रममा सदियौँ देखि यस विद्या अध्ययन अध्यापन गराइन्छ । जसले जे भने पनि ज्योतिष शास्त्र मानवले आफूलाई हेर्ने एउटा महत्पूर्ण घडी अनि दर्पण हो ।