Shittalpati
प्रजातन्त्र सेनानी पाल्पाको अधिवेशन : अध्यक्षमा तिमिल्सेना

पाल्पा,नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको अध्यक्ष यमलाल तिमिल्सेना सर्वसम्मत चयन भएका छन् ।  बुधबार संघको तानसेनमा भएको तेस्रो जिल्ला  अधिवेशनले तिमिल्सेनालाई अध्यक्षमा चयन गरेको हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका निष्ठावान राजनीतिज्ञ तिमिल्सेना अध्यक्षमा चयन हुनुलाई नेताकार्यकर्ताले सकारात्मक भनी टिप्पणी गरेका छन् । पूरै जीवन प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा ब्यतित गरेका उनलाई संघले जिल्लाको जिम्मेवारी सुम्पिदिएको हो । पार्टीमा अत्यन्त सरल र इमान्दार नेताको छवि बनाएका तिमिल्सेना विद्यार्थी राजनीतिबाटै पार्टी राजनीतिमा आएका हुन् । २०२८ मा तत्कालिन हाइस्कुलमा विद्यार्थी युनियनको सह–सचिव हुँदै २०३० मा उनी सभापति बनेका थिए । अध्ययनको शिलसिलामा भारत पुगेका तिमिल्सेना २०३४ मा भारतमै नेपाली छात्र संघको सदस्य बने । उनी नेपाल फर्किसकेपछि २०३६ मा पार्टीको साधारण सदस्य बनेका थिए । पार्टीमै लगनीशल भएर लागेका तिमिल्सेना शिक्षक भएका कारण २०४० मा शिक्षक आन्दोलनमा समेत सक्रिय रहे । २०४६ सालको आन्दोलनमा उनी ३ पटक गिरफ्तारमा परेका थिए । २०४७ मा पार्टीको आमन्त्रित जिल्ला सदस्य बनेका उनी सोही अवधिमा ६ महिना जिल्ला सदस्यका रुपमा रहे । २०४९ देखि २०६२ सम्म पार्टीको जिल्ला सचिवको जिम्मेवारी सम्हालेका तिमिल्सीना २०६२/०६३ को जनआन्दोलनमा समेत सक्रिय रहे । उनी आन्दोलनका क्रममा पटक –पटक गिरफ्तारीमा समेत परेका थिए । ५ पटक महासमिति सदस्य बनेका उनी ६ पटक महाधिवेशन प्रतिनिधि सदस्य बने ।  तिमिल्सीना पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य समेत बने । हाल उनी महाधिवेशन प्रतिनिधि सदस्य समेत हुन् ।

तिमिल्सेनाको नेतृत्वमा चयन भएको समितिको उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई, सचिव निर्मल न्यौपाने रहेका छन् । यस्तै सदस्यहरुमा प्रकाशलाल श्रेष्ठ, कृष्ण लम्साल,तुङ्ख राज पौड्याल, हरिहर भट्टराई, तुल्सीराम न्यौपाने, शालिकराम  पाण्डे, यदु पाण्डे चयन भएको संघले जनाएको छ । यस्तै अधिवेशनले  महाधिवेशन केन्द्रीय प्रतिनिधि समेत छनौट गरेको छ । जसमा निलराज नेपाल, हुमनाथ न्यौपाने, सुन्दरप्रसाद  देवकोटा, विष्णुदेवी घिमिरे र गणेश खनाल चयन भएको निर्वाचन अधिकृत केशवराज अधिकारीले जानकारी  दिए ।   

 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update