पाल्पा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भरत कुमार शाहले मुलुक परिवर्तनमा प्रजातन्त्र सेनानीहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् । बुधबार नेपाली काँग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको तेस्रो जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले देशमा परिवर्तन ल्याउनमा प्रजातन्त्र सेनानीहरुको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।
नेता शाहले प्रजातन्त्र सेनानीको सक्रियताका कारण नेपालमा परिवर्तन सम्भव भएको बताउँदै नेपाली जनताले आजसम्म जे जति अधिकार प्राप्त गरेका छन् त्यसमा प्रजातन्त्र सेनानीको भूमिका रहेकोे उल्लेख गरे । काँग्रेसको १०० दिने अभियानका पाल्पा प्रतिनिधि समेत रहेका उनले राणा शासनलाई समाप्त पारेर संवैधानिक राजतन्त्र र संसदीय प्रणाली ल्याइएको बताए । निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था फालेर बहुदलीय प्रणाली स्थापनामा प्रजातन्त्र सेनानीहरुको सक्रियता, सजग, दूरदर्शी र नेतृत्वदायी भूमिका रहेको नेता शाहले उल्लेख गरे । ‘प्रजातन्त्र सेनानीको सक्रिय भूमिकाबिना नेपालमा परिवर्तन सम्भव थिएन,’ उनले भने । प्रजातन्त्र सेनानीहरु क्रान्तिकारी, आन्दोलनकारी र संघर्षशील हुने गरेको तथा परिवर्तनको पक्षमा काम गर्दै आएको उनको भनाइ थियो । नेता शाहले आफुले पनि प्रजातन्त्र ल्याउन ज्यानकै बाजी लगाएको स्मरण गर्दै कठिन परिस्थितिमा सेनानीहरुले काम गरेको बताए । उनले भने ‘प्रजातन्त्र त्यत्तिकै आएको हैन, दुःख गरेर ल्याइएको हो । त्यसको संरक्षण गर्ने दायित्व पनि हाम्रै हो ।’ नेता शाहले अहिलेको व्यवस्थालाई यताउती हुन नदिई सबै सेनानीहरु अब एक भएर देश र पार्टी बनाउने दिशामा लाग्न जरुरी रहेको औल्याए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान दिएका प्रजातन्त्र सेनानीहरु सधै देशका लागि अमर रहेको बताए । उनले हिजोका दिनहरुमा देश परिवर्तनमा खेलेको भूमिका अहिले पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे । सभापति श्रेष्ठले ‘प्रजातन्त्र सेनानीहरुलाई साथमा लिएर पार्टी र मुलुक रुपान्तरणमा अब पाल्पा काँग्रेस लाग्छ ।’ उनले प्रजातन्त्र सेनानीहरुको जिल्लामा रेकर्ड राखिएको र उनीहरुको योगदानको कदरस्वरुप सम्मान समेत गर्दै आएको बताए । सभापति श्रेष्ठले पार्टीलाई विधिवत, संस्थागत र भातृ संस्थाहरुलाई चलायमान बनाउने काममा पार्टी सक्रिय भएर लागेको उल्लेख गरे ।
कार्यक्रममा पार्टीका नेताहरुले प्रजातन्त्र सेनानीहरुको योगदानको सम्मान गरेको भने पनि प्रजातन्त्र सेनानीका नेताहरुले भने आफुहरुको योगदान ओझेलमा परेको गुुनासो गरेका छन् । प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य हरिराज गौतमले मुुलुुकमा व्यवस्था परिवर्तनका लागि आफुहरुले जेल, नेल खेप्नु परेको स्मरण गर्दै अहिले त्यो योगदान ओझेलमा परे जस्तो भएको बताए । उनले पार्टीलाई सशक्त ढंगले अगाडि बढाउन पुराना र नयाँ व्यक्तिहरुलाई सँगै लिएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । मुलुक परिवर्तनमा योगदान दिएका व्यक्तिहरुको पार्टीले सम्मान गर्नुपर्नेमा उनले जोड दिए । नेता गौतमले संगठनलाई शुद्धीकरण गर्न जरुरी रहेको बताउँदै शुद्धीकरण नगर्दासम्म संघ बलियो बनाउन नसकिने धारणा व्यक्त गरे । कार्यक्रममा संघका केन्द्रीय सदस्य विधान श्रेष्ठले आफुले व्यवस्था परिवर्तनका लागि ज्यान फालेर लागेको स्मरण गर्दै अहिले सम्म कुनै पदको लागि लोभ नगरेको बताए । उनले पार्टीमा लागेर कर्म गर्न तर पदकको आशा नगर्न सबैलाई आग्रह गरे । नेता श्रेष्ठले भने ‘राजनीति गर्दै जाँदा कहिले नसोचेको पद समेत पाइन्छ, त्यसैले धैर्य भएर बसौं ।’ उनले जुनसुकै बेला पनि राजनीति दुर्घटना हुन सक्ने भएकाले सचेत भएर लाग्न पार्टी नेतृत्वलाई आग्रह समेत गरे । उनले राजनीतिलाई सहि बाटोमा लैजान प्रजातन्त्र सेनानी एक पटक फेरि जाग्न जरुरी रहेको बताए ।
प्रजातन्त्र सेनानी राजेन्द्र गोपाल सिहले पार्टीले नियमन नगर्दा प्रजातन्त्र सेनानीहरुको योगदान ओझेलमा परेको बताए । उनले भने ‘ हाम्रो सर्वोच्च निकाय भनेको पार्टी हो,पार्टीले नियमन नगर्दा सेनानीहरुको योगदानको सम्मान हुन सक्दैन ।’ नेता सिंहले प्रजातन्त्र ल्याउन योगदान पुर्याएका व्यक्तिहरुको अभिलेख राख्न समेत पार्टीलाई आग्रह गरे । प्रजातन्त्र सेनानी डा. राम प्रासाद ज्ञावालीले काँग्रेस अहिले पार्टी नभएर पाटी भएको बताए । ज्ञवालीले भने ‘पार्टी पौवा जस्तै बनेको छ, । पार्टीमा योगदान दिनेहरुको कुनै रेकर्ड छैन ।’ अर्का प्रजातन्त्र सेनानी कृष्ण प्रसाद पौडेलले विद्यार्थी राजनीति गर्दा भोग्नु परेका पिडाको स्मरण गर्दै त्यति बेला गरेको योग्दान अहिले ओझेलमा परेको गुनासो गरे । कार्यक्रम माथि प्रकाश पार्दै संघका जिल्ला अध्यक्ष यमलाल तिमिल्सेनाले प्रजातन्त्र सेनानी भनेको २००७ सालदेखि २०४६ सम्म योगदान पुर्याएका योद्धा रहेको बताए । उनले प्रजातन्त्र ल्याउन योगदान दिएका व्यक्तिहरुलाई अब पार्टीलाई थप बलियो बनाएर लैजाने दिशामा लाग्न पनि आग्रह । संघका अध्यक्ष तिमिल्सेनाको अध्यक्षता ,सहिद पुत्री विष्णुदेबी आचार्यको स्वागत, नेपाली काँग्रेस पाल्पाका प्रवक्ता शोवाकर न्यौपानेको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो ।