पाल्पा, २०११ सालमा स्थापना भएको तानसेनको मिसन अस्पतालले २५ औं वार्षिक साधारण सभा मनाएको छ । अस्पतालले एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा मनाएको हो ।
सभाको युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका आचार्यले अस्पताल जर्नल अस्पताल रहे पनि विशेषज्ञ सेवा दिर्दै आएको बताए । उनले पञ्चवर्षे योजना बनाएर आफुहरु अगाडि बढेको बताउँदै आगामी दिनमा थप विशिष्टकृत सेवा थप्दै जाने समेत बताए । उनले भने ‘५ वर्षे योजाना बनाएका छौं, त्यसमा थप गुणस्तरीय सेवा सहितको अस्पताल बनाउने योजना रहेको छ ।’ निकट भविष्यमै सिटिस्क्यानको व्यवस्था गर्ने र अन्य विशेषज्ञ सेवाका विषयमा समेत छलफल भइरहेको आचार्यको भनाई छ । उनले विरामीको उपचारसँगसँगै गुणस्तरीय मेडिकल एजुकेसन ल्याउने योजनामा समेत अस्पताल रहेको बताए । निर्देशक आचार्यले भने ‘नाफा कमाउने उद्देश्य मिसनको होइन् । यहाँका निजी तथा सरकारी स्वास्थ्य संस्थासँग हातेमालो गरेर जनतालाई गुणस्तरीय उपचार सेवा दिन अस्पताल जतिबेला पनि तयार रहेको छ ।’
कार्यक्रममा अस्पताल सल्लाहकार समितिका सदस्य तथा तानसेन –१ का वडाध्यक्ष सुनिल बस्याल, नेपाली काँग्रेस पाल्पाका उपभासपति झपेन्द्र गहिरे, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, जिल्ला अस्पताल पाल्पाका अध्यक्ष गुराँस आत्रेय, नेपाल रेडक्रस सोसाइटी पाल्पाका अध्यक्ष बाबुराम कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले स्वास्थ्य क्षेत्रमा अस्पतालले पु¥याएको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै विगतको इतिहास र गरिमालाई कायम राख्ने गरी काम गर्न अस्पताललाई सुझाव दिए ।
अस्पतालकी निर्देशक डा.रचेल कारखले अस्पतालको वार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा ७७ हजार ३ सय ११ जना बिरामीले अस्पतालबाट उपचार सेवा लिएको बताईन् । कार्यक्रममा अस्पताल प्रशासक जीवन भट्टराईले ५२ करोड ९१ लाख ११ हजार ७ सय १ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षता, अस्पताल सुपरिडेण्डेन डा. तुल वहादुर पुनको स्वागत,अस्पतालका व्यवस्थापक गणेश घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।