Shittalpati
रामपुरमा ‘लक्ष्मीनारायण पाटी संग्रहालय’

पाल्पा, जिल्लाको रामपुरमा लक्ष्मीनारायण पाटी संग्रहालय स्थापना गरिएको छ । रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा उक्त संग्रहालयको स्थापना गरिएको हो । लक्ष्मीनारायण गुठीद्वारा सञ्चालित धर्मशालामा स्थापना गरिएको पाटी संग्रहालयको एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।

संग्राहालयको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले उद्घाटन गरेकी हुन् । संग्रहालयको उद्घाटन गर्दै उनले पुर्खाहरुले प्रयोग गरेको सामग्री, तत्कालीन समयको परिवेश र इतिहास बारे नयाँ पुस्तालाई जानकारी दिन संग्रहालयले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । पाटी भवन रामपुरको इतिहास मात्र नभई पर्यटकिय गन्तव्य रहेको बताउँदै उपप्रमुख थापाले नगरपालिका धर्मशालाको संरक्षण तथा संग्रहालयको व्यवस्थापनमा आवश्यक सहयोग गर्ने बताइन् । ४ का वडा अध्यक्ष राम बहादुर रानाले संग्रहालयको संरक्षण र सम्वद्र्धन गर्नु सबैको दायित्व रहेको बताउँदै वडाले पनि आवश्यक साथ र सहयोग गर्ने बताए । संरक्षणका लागि वरपरका समुदायको अझ सक्रियताको खाँचो रहेको उनको भनाई छ । रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले ऐतिहासिक पाटीले बटुवालाई आश्रय दिनुका साथै हालको रामतुलसी मावि समेत यही पाटीमा सञ्चालन भएको बताए । उनले विद्यालयले पनि संग्रहालय स्थापनाको तयारी गरिरहेको जानकारी दिए । लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले धर्मशालाको ऐतिहासिक पृष्ठभुमिको बारेमा जानकारी दिदै संग्रहालय गुठी मातहतमा रहे पनि स्थानीयहरुबाट नै सञ्चालन हुने बताए । उनले  संग्रहालय सञ्चालनका लागि गुठीले आवश्यक सहयोग गर्ने बताए । संग्रहालय समितिका अध्यक्ष कविता मल्लले नगरपालिका र स्थानीयको साथ सहयोगबाट संग्रहालय स्थापना गरिएको बताइन् । व्यवस्थापनका अन्य कार्यहरु बाँकी रहेकाले क्रमशः थप व्यवस्थापन गर्दै जाने उनको भनाई छ । उपाध्यक्ष क्याप्टेन ओमनारायण श्रेष्ठले रामपुर नगरपालिका –३ देखि ७ सम्मका विभिन्न व्यक्तिहरुले निःशुल्क प्रदान गरेको सामाग्री संकलन गरी संग्रहालयमा राखिएको बताए । उनले भने ‘विभिन्न जातजातिसँग सम्बन्धित संस्थाहरुको समन्वयमा जातिय पोशाकहरु संग्रहालयमा राखिएको छ ।’ समितिका सचिव इन्द्र बहादुर घर्तीले  नगरपालिकाबाट प्राप्त दुई लाख बजेटले यस वर्ष कम्पाउण्डको केही काम गरिएको र वडा नं. ४ बाट विनियोजित एक लाख रकमले संग्रहालयमा लाईटको व्यवस्था गरिएको बताए ।

कार्यक्रममा स्थापनाको लागि सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । संग्रहालय समितिले कुनै समय गाउँघरमा प्रचलनमा रहेका पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका भेषभूषा संग्रह गरी संग्रहालय राखेको छ । धर्मशालाको तल्लोतलामा विगतमा प्रचलनमा रहेका पुराना सामग्री र दोस्रो तलामा विभिन्न जातजातिसँग सम्बन्धित पोशाकहरु राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update