नेपाली समाजमा स्वस्थानीको महिमा महत्वपूर्ण रहेको छ । यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान आजदेखि शुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म हिन्दू धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । नेपाली महिलाहरुले लिने व्रतभन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिइन्छ । थुप्रै धार्मिक र सामाजिक महत्व बोकेको यस स्वस्थानीको व्रत सत्य युगमा हिमालयकी छोरी पार्वतीले महादेव पति पाउ भनेर १ छाक खाएर निकै कस्टका साथ व्रत बसेको र व्रत पश्चात् आफ्नो मनोकामना पूरा भएको जनविश्वास पाइन्छ । साथै अर्काे सामाजिक पाटोलाई हेर्ने हो भने गोमा व्राह्मणीको कथाले प्राचिन समयमा पनि बालबालिकाहरुका नराम्रा असरहरु प्रस्तुत गर्दै बालबालिका बारे जनतचेतना फैलाएको छ । यसले संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरु मार्फत धेरै ठाउँमा नारी पुरुषबीचको लैङ्गिक समानताको वकालत पनि गरेको छ ।
स्वस्थानी महात्म्यको पूर्वभागमा दक्षप्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्षप्रजापतिले आफ्ना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गरेको प्रसंग आउँछ । मध्यभागतिर भने हिमालय पर्वतकी पुत्री पार्वतीको रुपमा पुनर्जीवन लिएकी सतीदेवीले स्वस्थानीको व्रत गरेको प्रभावले महादेवलाई नै पतिको रुपमा प्राप्त गरेको प्रसंग आउँछ । स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्द्रावती र लावण्यवतीलाई विभिन्न उपदेश गरी ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो समाजमा पनि नयाँ पुस्तालाई मौका दिइनुपर्ने सन्देश पाइन्छ । काम र उमेरले पाका भएका व्यक्तिहरूको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई शिरोधार्य गरे मात्र स्वस्थ समाज बन्ने दृष्टान्त पनि स्वस्थानी महात्म्यले दिन खोजेको छ । यसर्थ पनि नेपाली समाजमा स्वस्थानीको महिमा अत्यन्त महत्वपूर्ण मान्न सकिन्छ ।