सबै नेपालीले एकसाथ मनाउने साझा पर्व हो माघे संक्रान्ति । तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन् । विशेष गरि हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन हो माघ १ अर्थात माघे संक्रान्ति । हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । यो साझा चाड रहेकाले माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक विदा समेत दिएको छ । समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तर सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् । नेपालको एक प्रमुख चार्ड मध्ये यो एक हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
माघे र मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लडडु र तरुल खाई मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्दछ । माघ संक्रान्तिमध्ये जाडोको रमाइलो पर्व पनि हो । यस दिन तेल लगाउने प्रचलन पनि छ । यो पर्व धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण रहेको छ । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे संक्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ ।