बलेवा (बागलुङ), काठेखोला गाउँपालिकाले समुदायकै नेतृत्वमा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सकृयता र सहभागिताबिना कानुन र कारबाहीले मात्र जैविक विविधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानुन बनेको हो ।
गाउँपालिकाले १६औँ गाउँसभाबाट पारित गरेको ‘जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन’ ले संरक्षणका लागि समुदायको सहभागिता हुने व्यवस्था गरेको हो । अवैधानिक रूपमा जलचरको उपयोगले जलचर लोप हुने खतरा बढेपछि गाउँपालिकाले जलचरको संरक्षण र उपयोग गर्ने कानुन बनाएको हो । ऐन बनेसँगै गाउँपालिकाभित्रका खोलानालाका जलचर तथा जलीय जैविक विविधताको संरक्षणका लागि कार्यविधि बन्ने गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताए ।
उक्त नीतिअनुसार विपन्न र बेरोजगार तथा परम्परागत रूपमा पेसा अँगालेका नागरिकलाई मात्र जलचरको उपयोग गर्न दिइनेछ । माछा, गङ्गटालगायत जलचरको प्रजननका समय र सङ्कटको समयमा उपभोगमा रोक लगाउने विषय नीतिमा उल्लेख छ । ‘कानुनको कसी र कारबाहीले मात्र संरक्षण सम्भव छैन, त्यसैले हामीले खोला छेउका बस्तीको सकृयता र सहभागिता हुनेगरी समूहमार्फत संरक्षणको नीति ल्याएका छौँ’, उपाध्यक्ष थापाले भने, ‘किन जोगाउने, नजोगाउँदा समुदायलाई कस्तो असर पर्छ भन्ने बुझाउन पनि उनीहरूकै सहभागिता आवश्य छ ।’
गाउँसभाले काठेखोला गाउँपालिकाका कर्मचारीको व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । कर्मचारीको व्यवस्थापन, वृत्तिविकासमा सहयोग पुर्याउन र काम गर्ने मनोबल विकास गर्नेगरी ऐन बनेको हो । गाउँसभाले विद्यालय व्यवस्थापक कार्यक्रम कार्यविधि पनि पारित गरेको छ ।
विविध क्षेत्रका १२ जनालाई सम्मान
गाउँपालिकाभित्र विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्ति तथा संस्थालाई काठेखोला गाउँपालिकाले १६औँ गाउँसभामा सम्मान गरेको छ । गाउँपालिकाको गरिमा बढ्नेगरी योगदान गरेको भन्दै शिक्षा, कृषि, उद्योग, सञ्चारलगायत क्षेत्रका व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।
गाउँपालिकाले एसइई र कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा ल्याएको भन्दै धारा माध्यमिक विद्यालय र राष्ट्रपति रनिङ शिल्ड जितेको अमर माविलाई सम्मान गरेको छ । साना उद्योगमार्फत रोजगारी सृजना गरेको भन्दै फर्निचर व्यवसायी पूर्णबहादुर थापा सम्मानित भएका छन । कृषितर्फ अलँैची उत्पादक किसान भीमबहादुर जोल्मी, फलफूल उत्पादक किसान गोरी थापा, पशुपालक किसान लालबहादुर घर्ती, सुन्तला उत्पादक किसान लोकनाथ कँडेल, रैथाने बाली उत्पादक किसान लीलाधर कँडेल र चिया उत्पादक किसान यामबहादुर कार्कीलाई सम्मान गरिएको छ ।
त्यस्तै उद्योगतर्फ पशुपति कपी उद्योगका सञ्चालक राजु सापकोटा र सञ्चारतर्फ गुहेली सञ्चार सहकारीका अध्यक्ष खिमबहादुर कार्कीलाई सम्मान गरिएको छ । कार्की अध्यक्ष रहेको सहकारीले काठेखोला नै कार्यक्षेत्र बनाएर जननिगरानी साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएको छभने पत्रिकाले गाउँपालिकाका गतिविधि नियमित प्रकाश गर्दै आएको छ ।