विश्व विज्ञान प्रविधिको युगमा छ । डिजिटल प्रविधिका कारण विश्व नै सांघुरो बनेको छ । अहिले मानिसको दिनचर्यामा सबैभन्दा बढी प्रभाव डिजिटल उपकरणले पारेको देखिन्छ । इन्टरनेट र सामाजिक सञ्जाल जस्ता डिजिटल दुनियाँबिना अधिकांशको दैनिकी नै चलाउन गाह्रो बन्दै गएको छ । मानिसको आधारभूत आवश्यकता जस्तै बन्दै गएको डिजिटल दुनियाँका कतिपय फाइदा पनि होलान् तर पछिल्लो समय यसले सिर्जना गरेका समस्या पनि विकराल बन्दै छन् । विशेष गरी, युवापुस्तामा डिजिटल उपकरणहरूको लत बस्दै जाँदा यसले समस्या सिर्जना गरेको छ । अन्य नशालु पदार्थहरूको सेवन गरेसरी युवा यसको लतमा फसेका छन् । यसबाट उम्किन उनीहरूलाई गाह्रो बन्दै गएको छ । यस्ता उपकरणको अत्यधिक प्रयोग गर्दा विभिन्न किसिमका मानसिक, शारीरिक एवं स्वास्थ्यसँग सम्बन्धित समस्या देखा पर्न थालेका छन् । डिजिटलको सही प्रयोगले राम्रो गरे पनि यसको दुरुपयोग गर्दा भने समाजमा थप चुनौतीका रुपमा देखा परेको छ । यसको दुरुपयोग गरी मानिसमा त्रास फैलाउने, धम्की, फिरौती, अपहरण जस्ता घटना पनि उल्लेख्य वृद्धि भइरहेका छन् । आपराधिक घटनामा समेत डिजिटल प्रविधिको प्रयोग अत्याधिक भएको पाउन सकिन्छ । यो अत्यन्त गलत हो । मानिसले डिजिटल प्रविधिको सही प्रयोगका कारण आर्थिक समृद्धि हासिल गर्न सक्छ तर गलत प्रयोगले समाजलाई नै गलत बाटोमा पुर्याउन्छ ।
डिजिटल नेपालको लक्ष्यतर्फ अग्रसर नेपालका निम्ति साइबर अवरोध र सुरक्षामा समस्या आई नै रहेका छन् । पछिल्लो समय बैंकिङ् क्षेत्रमा गरिने अनलाईन कारोबारमा चोरीका घटनाहरु बढ्नुले समेत डिजिटल सुरक्षाको गम्भीर चुनौती देखिएको छ । डिजिटल नेपालको लक्ष्य पूरा गर्न डिजिटल सुरक्षामा अब झनै गम्भीर हुनैपर्ने सन्देश पनि हो । हरेक क्षेत्रका आ–आफ्नै गुण र दोष भए जस्तै डिजिटल क्षेत्रका समेत लाभ र हानिलाई पहिल्याउनु अहिलेको आवश्यकता हो । नयाँ नयाँ खोज एवं आविष्कारका सूचना प्राप्त गर्न, अध्ययन अध्यापन तथा खोज अनुसन्धानमा सहयोग पुर्याउन, पुराना सम्बन्धलाई ताजा बनाई राख्न, टाढा रहेका आफन्त, साथीभाइ तथा छरछिमेकलाई नजिक ल्याउन, सुख सबैसँग बाँड्न, दुःखमा सहारा बटुल्न आदिका लागि सामाजिक सञ्जाल एउटा माध्यम बन्न सक्नेमा दुईमत छैन । तथापि विज्ञानका उपलब्धि सकारात्मक कर्ममा उपयोग गरिए वरदान र नकारात्मक कर्ममा प्रयोग गरिए अभिशाप बन्ने तथ्यलाई भुल्न भने हुँदैन ।