पाल्पा, स्याङजाको आँधिखोला गाउँपालिका –५ कृषिस्थित कृषि–ओहिया भित्री कच्ची सडक खण्डमा टिपर दुर्घटना भएको छ । शुक्रबार राती कृषिबाट ओहियातर्फ जाँदै गरेको ग. १ क. ५१३९ नम्बरको आराम्भ निर्माण सेवाको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका –१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपाली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । अहिले उनको शवलाई सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा सल्यान सारदा नगरपालिका–७ का १५ वर्षीय हरि परियार, स्याङजाको आँधीखोला गाउँपालिका –२ ओहियाका ३३ वर्षीय कमल नेपाली, चितवनको राप्ती नगरपालिका –६ भण्डाराका ४१ वर्षीय प्रकाश वि.क. र सोही ठाउँकै ४१ वर्षीया सुमित्रा वि.क. घाइते भएका छन् । घाइते सबै जनाको पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा उपचार भइरहेको छ । टिपर सडकदेखी ५० मिटर तल खसेको छ । के कारणले दुर्घटना भएको हो भन्ने विषय खुल्न सकेको छैन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।