बुटवल, पाल्पाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा नेपाल–भारत सीमा सुरक्षा बैठक भएको छ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक बैठक भएको हो ।
बैंठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्रमा हुने अतिक्रमण लगाएतका विषयमा छलफल भएको छ । बैंठकमा दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाई तथा सौन्दर्यकरण गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।
यस्तै बैठकले मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरुको नियन्त्रण तथा रोक लगाउने विषयमा विस्तृत रुपमा छलफल गरी दुई देशका सीमा सुरक्षा निकट बीच समन्वय र सहकार्य बढाउने निर्णय समेत गरेको जनाइएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयको आयोजनामा छैठौ समन्वयात्मक बैठक भएको हो ।