सहकारी घोटाला प्रकरणमा न्यायलयको कठघरामा तानिएका रास्वपाका सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछाने अहिले कुनै हिन्दी फिल्मका डन जस्तै भएका छन् । उनका हरेक अभिनयले देशका विभिन्न स्थानमा अनेकौं मञ्चनहरु मच्चाई रहेका छन् । हालै काठमाडौं जिल्ला अदालतबाट भएको धरौटी बुझाउने गरी फैसला भएपछि रास्वपाका कार्यकर्ता र नेता समेत संलग्न भई कानून व्यवसायी माथि भएको आक्रमणले न्याय क्षेत्रमा खुबै चर्चा पाएको छ ।
हुन त, हामी कहि कतै पनि सुरक्षित छौं, भनेर गर्भ गर्ने ठाउँ देखिदैन् तर पनि कानून व्यवसायी माथि नै आक्रमण गर्ने दुष्प्रयासले गर्दा कानूनी राज्यमा वितण्डा मौलाएको होकि भन्ने आशंका भने दह्रैँसँग उब्जिएको छ । न्यायलयमा बहस पैरवी गर्ने र कानूनी प्रमाण पेश गरेर आफ्ना पक्षलाई मुद्धा जिताउन पहल गर्ने कानून व्यवसायीको आफ्नो कानूनी धर्मप्रति पनि अंकुश लगाएर भौतिक रुपमा आक्रमणमै उत्रनु आफैमा अराजकता र कानूनलाई हातमा लिएको भन्ने बाहेक केही पनि हुन सक्दैन । चाहे जो जहाँ जसरी भए पनि कानूनी अधिकारका लागि बहस पैरवी गर्ने अधिकार राख्दछ । त्यो अधिकारको वास्ता नगर्ने अनि, मेरो मुलुकमा न्याय, मरेको छैन भन्ने जस्ता फजुलयुक्त अभिव्यक्ति दिने स्वयं रवि लामिछानेको कतिपय मिडिया र कानून व्यवसायी प्रतिका धारणा अनि व्यवहार एक आपसमा बाझिनु आफैमा दुर्भाग्यपुर्ण अवस्था हो । मुलुकका हरेक घटना र परिघटनामा न्यायको पक्षमा सधै वहस पैरवी गर्नेलाई बेला बेलामा आक्रमणका धम्की दिनु र फैसला भए लगत्तै भौतिक आक्रमण हुनु आफैमा दुर्भाग्यपुर्ण घटना हो । यो घटनामा संलग्न दोषी उपर कारवाहीको प्रक्रिया अगाडि नबढ्ने हो भने मुलुकको कानूनी राज्यको सही सदुपयोग हुन्छ भन्ने कुरामा विश्वस्त हुन सकिने अवस्था छैन् । नयाँ डन हुन या, पुराना जो जसले पनि कानूनी राज्यमा कानूनकै धज्जी उठाउन खोज्छ भने, त्यसलाई कारवाहीको दायरामा ल्याउन जरुरी छ ।