पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूकुम पश्चिम, धनुषा र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । क.प्र.०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–१ लामिछाने गाउँका ३५ वर्षीय किरणजिबी लामिछानेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित सडकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृृत्यु भएको छ । बीआर ०६ डिजे २६३२ नम्बरको मोटरसाइकलले ज.१२ प ६०३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी पिपरा गाउँपालिका–५ की ६० वर्षीया राजमरी देवीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको जानकी हेल्थ केयर जनकपुरमा र मोटरसाइकल चालकको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका–२ झगडपुरस्थित सडकमा अटो र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भे.२ स ५६६१ नम्बरको अटो र सु.प.प्र.०१–००९ प ४०५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने केशव आलेमगरकी छोरी ६ वर्षीया आरती आलेमगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दगोरिया अस्पताल बौनिया हुँदै नव जीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना र मोटरसाइकलमा सवार १ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ । अटो र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीन वटै घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।