Shittalpati
दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

लुम्बिनी, नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा कर्मचारीको स्वास्थ्य अवस्था परीक्षण गराउने अभियान थालेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले यस वर्ष लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा दुई सय सात जना चालक तथा कर्मचारीको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । 

सो कार्यालयले दुर्घटना न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउने भन्दै सवारी चालक तथा मजदुरको आँखा तथा स्वास्थ्य चेकजाँच गरिएको जनाएको छ । राजमार्ग र लामो दूरीका सवारी साधनका चालक र मजदुरलाई लक्षित गरेर स्वास्थ्य परीक्षण र आँखा शिविर सञ्चालन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । 

सार्वजनिक सवारीसाधन चलाउने चालकले लामो समय सवारी चलाउँदा शारीरिक अस्वस्थता तथा मानसिक तनावमा रहँदा पनि स्वास्थ्य जाच गराउन चासो नदिई नियमित सवारी चलाउने गर्नाले दुर्घटना बढ्ने सम्भावना बढी भएकाले स्वास्थ्य जाच अभियान थालिएको प्रहरी उपरिक्षक खत्रीले बताए । यससँगै लामो दूरीका सार्वजनिक सवारीसाधन चलाउने चालकलाई यात्राका क्रममा आराम, निश्चित दूरी सम्मको सवारी चलाउने अनुमतिजस्ता कुरामा पनि ट्राफिक प्रहरीले नियमित अनुगमन गरिरहेको उनले बताए । यसका लागि लुम्बिनी प्रदेशअन्तर्गतका पश्चिम नवलपरासीको बर्दघाट देखि बर्दियाको कर्णाली सम्मको राजमार्गका विभिन्न स्थानमा ‘रि फ्रेस सेन्टर’ मा आराम गर्ने व्यवस्था मिलाइएको र ट्राफिक प्रहरीले आवश्यकताअनुसार विभिन्न स्थानमा चेकिङ गर्ने गरेकोसमेत उनले बताए । 

यस्तै ट्राफिक प्रहरीले सवारीसाधनको अवस्था हेर्न प्राविधिकमार्फत निःशुल्क सवारीसाधन प्राविधिक परीक्षण गर्ने गरेको छ । सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा तिनको प्राविधिक अवस्थामा ध्यान नदिने गर्नाले पनि दुर्घटनाका घटना बढेको भन्दै ट्राफिक प्रहरीको पहलमा सार्वजनिक सवारी साधनको प्राविधिक परीक्षणसमेत गरिएको छ ।

तीव्र गति नियन्त्रण, मापसेमा कडाइ, पैदलयात्रुलाई प्राथमिकता दिनेगरी सचेतना र कारवाहीको अभियानलाई सँगसँगै अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले मातहतका सबै जिल्लामा ट्राफिक नियमपालनासँगै सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाएको बताएको छ । 

ट्राफिक नियम पालना नगर्नेलाई सचेत बनाउने र पटकपटक अटेरी गर्नेलाई जरिवाना लिने, समुदाय स्तरमा ट्राफिक नियम सिकाउनेलगायत कार्यक्रम सञ्चालन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जानकारी गराएको छ ।

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको गत दुई महिनामा सवारी कारबाहीबाट रू दुई करोड ७० लाख ४१ हजार पाँच सय एक राजस्व सङ्कलन भएको छ । ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको मङ्सिरमा रू एक करोड ४० लाख १५ हजार र पुसमा रू एक करोड २० लाख २६ हजार पाँच सय एक राजस्व सङ्कलन भएको छ । यस अवधिको मङ्सिरमा १२ हजार एक सय ८२ र पुसमा १२ हजार दुई सय ६७ वटा सवारीमाथि कारबाही भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेको भनाइ छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष सवारी कारबाही र राजस्व दुवै घटेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको मङ्सिरमा २२ हजार एक सय ७३ सवारी कारबाहीबाट रू एक करोड ५७ लाख चार हजार र पुसमा २१ हजार दुई सय ९० सवारीलाई कारबाही गर्दा रू एक करोड ५२ लाख ४३ हजार राजस्व सङ्कलन भएको थियो ।

चालु वर्ष २०८१ को गत मङ्सिरमा सबैभन्दा बढी रूपन्देहीमा दुई हजार सात सय ३० सवारी साधनको कारबाहीबाट रू ४३ लाख १८ हजार राजस्व सङ्कलन भएको छ । पुसमा पनि रूपन्देहीमै बढी कारबाही र राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । गत पुसमा दुई हजार तीन सय ३६ सवारीसाधनलाई कारबाही गर्दा रू ३२ लाख १४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो । 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update