सर्वसाधारण जनताको ढाड सेक्ने गरी महँगी बढेको छ । विशेष गरी उपभोग्य वस्तुहरुको मूल्य अत्यधिक आकाशिएको छ । उपभोक्ता अधिकार संरक्षणका नाममा चाडपर्वलक्षित अनुगमनले बजार सुध्रन नसक्दा उपभोक्ता ठगिइरहेका छन् । चाडपर्व आउँदा मात्र अनुगमनलाई तिव्रता दिने तर अन्य समयमा बेवास्ता गर्ने प्रवृत्तिले उपभोक्ता ढगिने गरेका छन् । बजारमा महँगी मात्र हैन अखाद्य वस्तु समेत विक्री वितरण हुने गरेका छन् । यो अत्यन्त दुखद् हो । स्वच्छ र राम्रो खाद्य वस्तु उपभोग गर्न पाउनु हरेक उपभोक्ताको अधिकार हो । यदि, ताजा, राम्रो वस्तु उपभोग नगरेमा उपभोक्ताको जीवनसमेत बर्बाद हुन सक्छ । त्यसैले, हामीले दैनिक रुपमा उपभोग गर्ने वस्तुको धेरै नै महत्व हुन्छ । तर बजारमा उपलब्ध दैनिक उपभोग्यका सामग्रीहरु हरेक नागरिकले उपभोग गर्ने गर्दछन् । उपभोग्य म्याद गुज्रेको, लेभल नभएको, फोहोर भएका उपभोग्य वस्तु बिक्री गर्ने परिपाटी पनि बढ्दै गएको छ । व्यापारीहरुले घाटा हुने डरले जानाजान उपभोग गर्न योग्य नभएका वस्तु बिक्री गर्ने गर्दछन् । यस्ता कार्यले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । यस्ता क्रियाकलापको नियन्त्रणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने खाँचो छ । मौसमी अनुगमनले मात्रै महँगी र अखाद्य वस्तुको बिक्री, वितरण रोकिन सक्दैन ।
विश्वका जुनसुकै बजारमा वस्तु र सेवाको माग र आपूर्तिमा उत्पन्न हुन सक्ने विभिन्न समस्याको समाधान गरी बजारलाई स्वस्थ र स्वच्छ तुल्याउन, आम उपभोक्ताको हितको संरक्षण गर्न, उपभोग्य वस्तुहरूको सहज उपलब्धता सुनिश्चित गर्नसमेत बजार अनुगमन अपरिहार्य हुन्छ । त्यसमाथि बजारमा हुने कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन वस्तुको किनबेच, कालोबजारीलाई नियन्त्रण गर्न सघन बजार अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक छ । निरन्तर रुपमा अनुगमन गर्ने कार्य र बद्मासी गर्नेलाई कडा कानूनी कारवाही नहुने कारणले उपभोक्ता दिनहुँ ठगीनु परेको छ । यसर्थ उपभोक्ता अधिकार संरक्षण र उनीहरुलाई दैनिक उपभोग्य वस्तु स्वच्छ, सहज र सुपथ मुल्यमा पाउन सक्ने बनाउनका लागि निरन्तर बजार अनुगमन गर्न जरुरी छ ।