Shittalpati
सलाम कलकत्ते दाइ !

 दीर्घ बहादुर चन्द ‘सुमन’
म पूर्व सैनिक भएकाले कर्तव्य पालनाको सिलसिलामा २०७२ सालमा पहिलो पटक पाल्पा तानसेनसँग मितेरी गाँसेको । मैले करिब २ वर्षको सेवा पश्चात २०७४ सालमा पाल्पा छोडेको थिएँ । झण्डै सात वर्षको अन्तराल पछी पहाडको रानी पाल्पा तानसेनसँग दोस्रो पटक भलाकुसारी गर्ने मौका जुर्‍यो । यो मौका मलाई शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले जुराई दिएको हो । मैले साहित्यमा परिकल्पना गरेको लघुकविता उपविधा ‘आगो’ सम्बन्धी पुस्तक प्रकाशन गरेकोमा उक्त योगदानको उच्च मूल्यांकन स्वरूप मलाई प्रतिष्ठानले २०८१ मंगसिर २९ गते नगद सहित कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कार द्वारा सम्मान गरेको थियो । सोहि मञ्चमा तानसेन बसपार्कमा स्वयम् सेवी ट्राफिक प्रहरीको पोशाकमा सेवारत हामीले कलकत्ते दाई भनेर चिन्ने नागरिक ट्राफिकको उपाधिबाट विभूषित व्यक्ति श्री टोप बहादुर श्रेष्ठ (कलकत्ते दाइ) पनि हुनु हुँदो रहेछ । उहाँलाई पनि उक्त प्रतिष्ठानले राधावड्ढी स्मृति स्वयंसेवा सम्मान प्रदान गरेको रहेछ । म उहाँलाई देखेर औधि खुशी भएँ तथा छोटो भलाकुसारी पश्चात उहाँंले आफ्नो स्वयंसेवी कर्तव्य, योजना र कार्यान्वयन सम्बन्धी दुईपाने दस्तावेज “म नागरिक ट्राफिक प्रहरी टोप प्रसाद श्रेष्ठको अनुरोध” मलाई दिनुभयो र मोबाइलमा फोटो खिच्न भन्नुभयो ।
सात दशक भन्दा बढी उमेर भएका, फुर्तिला, जाँगरिला र जीवनमा केहि गर्नुपर्छ भन्ने हुटहुटी भएका, समाजसेवी भावनाले ओतप्रोत कलकत्ते दाइले समाज र राज्यबाट गरेका अपेक्षाहरु देखेर मेरो अन्तःस्करणमा हलचल मच्चायो । कुरा काटेर बस्ने समाज, समय भन्दा चांडै बुढो भएको अनुभव गर्ने पुस्ता, आफ्नो महत्वपुर्ण समय सामाजिक सञ्जाल वा मोबाईलमा बिताउने युवा पुस्ता र अन्धभक्त राजनैतिक कार्यकर्ताहरु भन्दा कलकत्ते दाईको योगदानले समाजलाई बढी अनुशासित, सुरक्षित र जिम्मेवार बनाएको महसुस गरि निम्नानुसार थप कुराहरु लेख्न बाध्य भएँ । समय, परिवेश र आवश्यकता अनुसार सफलताका आ–आफ्नै परिभाषा हुन सक्छन् । कसैले स्वयम् बस्न सक्नुलाई सफलता मान्न सक्छन्, कसैले हिंड्न वा दौडन सक्नुलाई आफ्नो सफलता मान्लान् भने कसैले गुड्नु वा उड्नुलाई । तसर्थ, सबैको लागि सफलताको मानक पनि फरक हुन सक्छन् । त्यसो भए कुनै व्यक्तिको सफलता के लाई मान्ने त ? दार्शनिकहरुको भनाई मान्ने हो भने कुनै व्यक्ति समय, परिवेश, शान, शौकत (शक्ति) र  धनदौलतबाट प्रभावित हुँदैन तथा आफ्नो अवस्थामा सन्तुष्ट छ भने त्यहि सफलता हो । जो व्यक्ति आफ्नो वर्तमान उपलब्धीसँग सन्तुष्ट हुन्छ, आफ्नो पेशा वा कर्तव्यलाई सर्वोपरी ठान्दछ त्यहि व्यक्ति भविष्यमा पनि सफल हुन्छ र आफ्नो वृत्ति विकासको सम्भावित उच्चतम बिन्दुसम्म पुग्न सक्दछ । आफ्नो पेशा, परिवेश र उपलब्धिबाट सन्तुष्ट देखिने व्यक्ति हुन् कलकत्ते दाई अर्थात् श्री टोप बहादुर श्रेष्ठ । स्या·जा जिल्लाको बाँसतारा देउरालीमा पुख्र्यौली ठेगाना भएका कलकत्ते दाइले आफ्नो अनुरोध पत्रमा उल्लेख गरे अनुसार आफु विगत पाँच दशक भन्दा बढी समयबाट पाल्पाको तानसेनस्थित बसपार्कमा नागरिक ट्राफिकको रुपमा अनवरत खटिएका छन् । उनले आफुलाई आफै सामाजिक जिम्मेवारी तोकेका हुन् उनले उक्त अनुरोध पत्रमा

आफैलाई तोकेको जिम्मेवारी निम्नानुसार रहेको छ: 
म नागरिक ट्राफिक प्रहरी टोप प्रसाद श्रेष्ठबाट आम नागरिकले पाउने सहयोगः विगत ५०÷५१ वर्षदेखि नागरिक ट्राफिक प्रहरीको रुपमा काम गर्दै आएको । पाल्पा, तानसेन बसपार्क क्षेत्रमा आउने नव आगन्तुकहरुलाई बाटो, गाडी र पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने । सवारी व्यवस्थापनमा बिना पारिश्रमिक काम गर्दै आएको र अबका दिनमा पनि काम गर्ने । असहाय, अपांग, वृद्ध र नवआगन्तुकले सहयोग चाहिएमा सम्पर्क गर्नुहोला । अनिवार्य रुपमा परिचयपत्र लगाउनुहोस् । तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुस्कर अथक रेग्मी, समाजसेवी माधव पाण्डे, पाल्पामा कार्यरत पत्रकार भगवान भण्डारी र माधव अर्यालसँग गरिएको कुराकानीको आधारमा कलकत्ते दाई सिद्धार्थ राजमार्ग बने पश्चात लगभग २०३०÷३१ साल बाट पाल्पाको तानसेन बसपार्कमा समाजसेवी नागरिक ट्राफिकको रुपमा खटिएका हुन् । सानै छंदा आमा गुमाएका कलकत्ते दाईको बुवाले सौतेनी आमा भित्र्याए पछी घर छोडेर भारततर्फ हिडेको र केहि समय भारतको कलकत्तामा बिताए पश्चात पाल्पाको तानसेनमा आउनु भएको र कलकत्ता बसेको हुनाले नै उहाँको नाम नै कलकत्ते दाई रहन गएको हो । पुख्र्यौली थातथलोसँग सम्पर्कविहीन जस्तै भएका कलकत्ते दाइ एकल जीवन बिताई रहनु भएको छ ।

कलकत्ते दाइले आफै सामाजिक जिम्मेवारी वहन गर्ने महान आकांक्षाको समाज र राज्यले उच्च कदर गर्नै पर्दछ । पाल्पास्थित जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले विभिन्न अवसरमा उहाँलाई सम्मान गरिसकेको छ । त्यस्तै यातायात समिति लगायत विभिन्न सामाजिक संघ संस्थाहरुले निजलाई सम्मान गरेपनि राज्यस्तरबाट समेत कलकत्ते दाइ जस्ता त्यागि र निस्वार्थ समाजसेवीलाई थप सुविधा र सुरक्षा होस् भन्ने मेरो अनुरोध रहेको छ । आफ्नो अनुरोधपत्र सदैव साथमा बोक्ने तथा फेलापरेका सबै सरकारका उच्च अधिकारीहरु लगायत समाजका जिम्मेवार व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत अनुरोध गरेर आफ्नो एकल अभियानमा दत्त चित्त भएर लागेका कलकत्ते दाइको अनुरोध पत्र जस्ताको तस्तै प्रकाशित गर्नु सान्दर्भिक ठानेको छु । उहाँका अपेक्षा र अनुरोधहरु सामाजिक शिक्षा र नैतिक शिक्षामा पढेका पाठहरू लगायत सम्बन्धित निकायको भन्दा फरक नभएपनि उहाँको अभियानमा एक्यवद्धता जनाउँंदै ठूलो स्वरले भन्न चाहन्छु ‘सलाम कलकत्ते दाइ’ ।
म नागरिक ट्राफिक प्रहरी टोप प्रसाद श्रेष्ठको अनुरोध
१.गाडी धनीहरुले पालना गर्नुपर्ने नियमहरु: (क) मादक पदार्थ तथा लागुपदार्थ सेवन गर्ने चालकहरु नराख्नुहोस् । (ख)    गाडीको सम्पूर्ण अवस्था ठिक राख्नुहोस् । (ग) यातायात मजदूहरुलाई रिजर्भ भत्ता बाँकी नराख्नुहोस्, समयमा उपलब्ध गराउनुहोस् । (घ)सवारी साधनका कागजपत्र समयमै नवीकरण गर्नुहोस् ताकि अनावश्यक जरिवानामा नपर्नुहोस् ।
२.सवारी चालकहरुले पालनागर्नुपर्ने नियमहरुः  (क) सवारी चालकले सजगता अपनाई सवारी चलाउनुहोस् । (ख) सवारी चालकले मादक पदार्थ तथा लागु पदार्थ सेवन नगर्नुहोस् ।  (ग)  चालकले यात्रुसँग अनावश्यक कुरा नगर्नुहोस् । (घ) चालकले सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्नुहोस् । (ङ) सवारी साधन चलाउनु भन्दा पहिला गाडीको अवस्थाको बारेमा जान्नुहोस् ब्रेक, लाईट, हर्न आदि कुरा ठिक भए नभएको चेक गर्नुहोस् । (च)    सवारी छुट्ने समयमै छुट्नुहोस् समयमै पुग्नुहोस् । (छ) बजार क्षेत्र, विद्यालय क्षेत्र तथा हर्न निषेध गरिएको क्षेत्रमा प्रेसर हर्नको प्रयोग नगर्नुहोस् । (ज)  सवारी यात्रु राखी सवारी साधनको ढोका बन्द गर्नुहोस् । (झ) सवारी यात्रु चढाउने र झर्ने काममा सह चालक जिम्मेवार बन्नुहोस् । (ञ) मीठो र शिष्ट भाषा प्रयोग गरि उचित भाडा लिनुहोस् । फिर्ता गर्नुपर्ने पैसा समयमै फिर्ता दिनुहोस् । (ट) महिला, जेष्ठ नागरिक, फरक क्षमता भएकाहरुको लागि सिट छुट्टयाउनुहोस् । (ठ) सिट भन्दा बढी यात्रु नचढाउनुहोस् । (ड) घरखर्च, लगेज झोलाको अन्दाजी २० के. जि. सम्मको भाडा नलिनुहोस् । (ढ) सवारी इन्ट्री प्वाइन्टमा अनिवार्य रुपमा सवारी इन्ट्री गर्नुहोस् । (ण) मो. सा. र स्कुटर चालकले हेल्मेट र साना तथा ठूला सवारी साधनका चालकले सिट बेल्टको प्रयोग गर्नुहोस् ।
३. सम्पूर्ण यात्रु महानुभावहरुले पालना गर्नुपर्ने कुराहरुः
(क) सवारी साधन छुट्ने समयभन्दा पहिले नै सवारी साधनमा चढ्नुहोस् ।
(ख) सवारी साधन पूर्णरुपले नरोकिए सम्म सवारीसाधनबाट नझर्नुहोस । (ग) सवारी साधनमा टिकट लिएर मात्र यात्रा गर्नुहोस् । (घ) सवारी साधनमा चढीसकेपछी सवारी साधनको नम्बर याद गर्नुहोस् । ताकि समान छुटेमा खोजि गर्न सहयोग हुनेछ । ४.सम्पूर्ण पत्रकारहरुलाई मेरो अनुरोधः (क) समय समयमा सवारी धनी, चालक, सह चालकसँग भेट गर्नुहोस् । (ख) दुर्घटना स्थलमा पुगी सत्य तथ्य समाचार बाहिर ल्याउनुहोस् । (ग) स्थानीय निकाय तथा सरोकारवाला संस्थासँगको सहकार्यमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुहोस् । ५. म नागरिक ट्राफिक प्रहरी टोप प्रसाद श्रेष्ठबाट आम नागरिकले पाउने सहयोगः (क) विगत ५०/५१ वर्षदेखि नागरिक ट्राफिक प्रहरीको रुपमा काम गर्दै आएको । (ख) पाल्पा, तानसेन बसपार्क क्षेत्रमा आउने नव आगन्तुकहरुलाई बाटो, गाडी र पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने । (ग) सवारी व्यवस्थापनमा बिना पारिश्रमिक काम गर्दै आएको र अबका दिनमा पनि काम गर्ने । (घ) असहाय, अपांग, वृद्ध र नवआगन्तुकले सहयोग चाहिएमा सम्पर्क गर्नुहोला । (ङ) अनिवार्य रुपमा परिचयपत्र लगाउनुहोस् ।
‘तीव्र गति जीवन क्षति’
अनुरोधकः नागरिक ट्राफिक प्रहरी टोप प्रसाद श्रेष्ठ तानसेन बसपार्क क्षेत्र

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update