बुटवल, लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको सोमबारको चौथौ बैठकमा लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बैंठकमा विधेयक पेस गरेका हुन् ।
लुम्बिनी प्रदेशभित्र ललितकलाको सम्भावना, त्यसको अध्ययन, संरक्षण र विकासका लागि विधेयकले सहयोग पुग्ने सरकारको विश्वास छ । विधेयकमा कलाकृतिहरूको सिर्जना तथा तिनको प्रदर्शन, कलाहरूको विविध विधाहरुमा अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने गरी विधेयक तयार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । विधेयकमाथि मंगलबार अर्थात् आजको बैठकमा सैद्धान्तिक छलफल सुरु हुनेछ । आइतबारको तेस्रो बैठकमा प्रदेशसभामा पेस भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । छलफलमा तीनजना प्रदेशसभा सदस्यले भाग लिए । प्रदेशसभा सदस्यहरु निमा गिरी, इन्द्रजीत थारु र विष्णु पन्थीले विधेयकमाथि आ–आफ्ना धारणा राखेका थिए ।