Shittalpati
पाल्पामा ११ महिनामा ६८ फरार प्रतिवादी पक्राउ

पाल्पा, विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६८ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले ११ महिनामा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

चालु आर्थक वर्षको पुस २९ गतेसम्म विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर पनि फरार रहेका उक्त संख्याका प्रतिवादीलाई पक्राउ गरेर सजाय र जरिवाना भुक्तान गराउने काम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले अदालतबाट दोषी करार भएर कैद भुक्तान र जरिवानाबाट बच्ने आशले फरार रहेका २० वर्ष पछी सम्मका प्रतिवादीलाई पक्राउ गरेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । २०८०/११/७ देखि २०८१/०९/ २९ गते सम्ममा फैसला पछिको अवधिलाई हेर्दा २० वर्षपछि २ जना, १५ वर्षपछि १ जना, १० वर्षपछि २२ जना, ५ वर्षपछि १५ जना र ५ वर्ष भन्दा कम अवधिका २८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार अदालतबाट दोषी करार भएर सजाय पाए पनि फरार रहेका प्रतिविादीलाई योजना नै बनाएर पक्राउ  गरिएको  हो ।

पक्राउ परेकाबाट २० वर्ष १ महिना १ दिन कैद र ७१ लाख ३६ हजार ९ सय ४३ जरिवाना असुलउपर गरिएको सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक चन्दले जानकारी दिए । उनले भने ‘अदालतले फैसला गरिसकेका मुद्दाका फरार प्रतिवादीलाई खोजी गर्ने अभियान अहिले पनि जारी छ । ’
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update