सरकार प्रतिदिन आलोचित भइरहेको छ । मुलुकका दुई ठूला दल मिलेर बनेको बलियो सरकार बने पनि जनताका इच्छा, आकांक्षाको सम्बोधन हुन सकेको छैन् । जोड–घटाउका हिसाबले सरकार बलियो छ स्थिर छ र आफ्नो कार्यकाल निर्विध्न पूरा गर्न सक्छ । तर, यही सरकार गठन भएपछि जनताले सुशासन प्रत्याभूत गर्न पाएका छैन् भने दैनिक जसो सयौं युवाहरु स्वदेशमै रोजगार नपाएर विदेशीएका छन् । कोभिडपछि धला परेको देशको अर्थतन्त्र अझै पनि तंग्रीन सकेको छैन् । वर्तमान शक्तिशाली गठबन्धन सरकार बनेको ६ महिना पूरा भएको छ । यो धेरै लामो समय होइन तर यसलाई कम भन्न मिल्दैन । बिहानीले दिनको संकेत गर्छ भन्ने भनाइ छ ।
सरकारको बिहानी अब टरिसकको छ । यो समयसम्म सरकारले तय गरेको बाटो स्पष्ट रूपमा देखिनुपर्ने थियो तर उसले आफू हिँड्ने बाटो राम्ररी तय गर्न सकेको देखिँदैन । जनतामा आशाको सञ्चार गराउन सकेको छैन । आर्थिक रूपमा राष्ट्र प्रतिदिन ओरालो लाग्दै गएको देखिन्छ । जनताको आर्थिक उन्नति हुनेखालका काम हुनसकेका छैनन् । बेरोजगारीको समस्या दिनप्रतिदिन बढी रहेको छ, देशबाट युवाहरू रित्तिँदैछन् । खेतीयोग्य जमिन बाँझो रहने क्रम बढिरहेको छ । विदेशसँग गरिएका आर्थिक सहयोगका सम्झौताहरूको स्वरूपको पुष्टि सरकारबाट हुन सकिरहेको छैन । यो अत्यन्त दुखको कुरा हो । शिक्षा, स्वास्थ्य, कृषि, अर्थतन्त्र, विकास निर्माण सबै क्षेत्रमा यस्तै अवस्था छ । यसले सरकार जनताप्रति त्यत्ति गम्भीर भएको पाइँदैन । अहिले पनि सुशासन र आर्थिक समृद्धि हासिल गर्ने सरकारको योजना बोली र कागजमा मात्रै सीमित हुने अवस्था देखिएको छ । प्रधानमन्त्री, मन्त्रीलगायतका उच्च पदस्थहरु नसच्चिँदासम्म मुलुकमा सुशासन कायम हुन सक्दैन र सुशासन कायम नहुँदासम्म विकास र समृद्धिको ढोका पनि खुल्न सक्दैन । तसर्थ वर्तमान सरकार जनताका अपेक्षा अनुसार आर्थिक समृद्धि र सुशासनलाई कायम गर्ने दिशामा अलमल गर्न हुँदैन ।