पाल्पा, पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट एक वर्षदेखी प्रयोग विहिन अवस्थामा रहेको छ । कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निमार्ण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको हो ।
दक्ष जनशक्ति नहुँदा र मर्मतसम्भारमा ध्यान नदिदा अस्पतालमा साढे तीन वर्षअघि जोडिएको प्लान्ट बेकामे बनेको छ । २०७८ भदौमा अक्सिजन प्लान्ट जडान गरिएको थियो । प्लान्टबाट दैनिक ७० सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । यो प्लान्ट करिब साढे दुई वर्ष सञ्चालन भयो । बिस्तारै उत्पादन क्षमता घट्यो । एक वर्षयता भने प्लान्ट प्रयोगमा आउन सकेको छैन । लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा यहीबाट अक्सिजन वितरण हुँदै आए पनि एक वर्ष यता बन्द छ । बुष्टरको हेड विग्रीएकाले प्लान्ट बन्द रहेको अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताए । उनले भने ‘नेपालमा पार्टपुर्जा नपाउँदा अक्सिजन प्लान्ट मर्मत–सम्भारमा समस्या आएको छ । भारतको लखनउबाट पार्टपुर्जा मगाएका छौं, अब केही दिनमा प्लान्ट सञ्चालनमा आउन्छ ।’ आफु नेतृत्वमा नभएको बेला अघिल्लो मेसुले प्लान्ट सञ्चालनमा चासो नदिदा एक वर्ष अघिदेखि प्लान्ट नियमित सञ्चालनमा आउन नसकेको अध्यक्ष आत्रेयले बताए । उनले एक वर्षदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन मात्र उत्पादन गर्ने र बाहिर नपठाउने गर्दै आएकोमा तीन हप्ता यता भने पूर्ण रुपमै प्लान्ट बन्द रहेको बताए । प्लान्ट बन्द भए पनि अस्पतालमा आउने विरामीहरुलाई अक्सिजनमा कुनै पनि समस्या नरहेको अध्यक्ष आत्रेयले दावी गरे । उनले भने ‘अहिले प्लान्ट बन्द रहे पनि विरामीहरुका लागि कुनै समस्या छैन् । हामी कोभिडका बेला ल्याएको कन्सटेटरमार्फत अक्सिजनको परिपूर्ति गर्दै आएका छौं ।’ यता बिरामीका आफन्तहरुले भने अक्सिजनकै अभावमा बिरामीलाई अन्यत्र लैजानुपरेको गुनासो गर्दै आएका छन् । उनीहरुले अस्पतालमै प्लान्ट हुँदा हुँदै मर्मत–सम्भारमा चासो नदिदा आफुहरु अन्यत्र जानु परेको बताएका छन् । केही दिन अघि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारुले समेत अक्सिजन प्लान्टको छड्के अनुगमन गरेका थिए । उनले अस्पताललाई तत्काल प्लान्ट मर्मत गरी सञ्चालन गर्न निर्देशन समेत दिएका थिए । मन्त्रीको निर्देशनपछि अस्पतालका अध्यक्ष आत्रेयले प्राविधिक बोलाएर छिटो भन्दा छिटो पार्टपुर्जा मगाएर प्लान्टर मर्मत गर्न आग्रह गरे ।
बिग्रिएको सामान फेर्न २ लाख ५० हजार खर्च लाग्ने जनाइएको छ । मेसिनको विषयमा ज्ञान नभएको व्यक्तिले स्वीच अन, अफ गर्दा मेसिनमा समस्या आएको प्राविधिक नवराज बस्यालले बताए । उनले भने ‘पहिले म आफै हेर्थे, पछि मैले छोडेपछि मेसिन सञ्चालनमा आउन सकेन । मैले छोडेको पनि एक वर्ष नै भयो , अहिले १ गते देखि पुनः काममा आएको छु । अब छिट्टै सामान ल्याएर प्लान्ट सञ्चालन गर्छौं ।’ संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने मेसिनहरु खरिद गरि प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पतालनजिकै २६ लाख लागतमा भवन निर्माण गरिएको छ । कोभिडका बेला प्लान्ट सञ्चालनमा आउँदा सहज भए पनि अहिले बन्द हुँदा दीर्घ रोगीहरु मर्कामा परेका छन् ।