पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, रोल्पा र तनहुँमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
गुल्मीको धुर्कोट गाउँपालिका–५ रोहीस्थित सडकमा बसबाट खसेर एक महिलाको मृत्युु भएको छ । लु.१ ख ५७३६ नम्बरको बसबाट खसेर बसमा सवार ईश्मा गाउँपालिका–५ रातामाटा बस्ने ३९ वर्षीया शान्ती कुमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको गुल्मी अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । देवघाट गाउँपालिका–५ बगन्दी बस्ने ६८ वर्षीय सोम बहादुर गुरूङको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँस्थित रूखमा बाँधिएको विद्युत प्रवाह भएको तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यस्तै रोल्पाको रून्टिगढी गाउँपालिका–६ कानकुटे डाँडास्थित सडकमा रा.१ ख २३५६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–७ बलवाङकी ७५ वर्षीया मनबुझा विकको घटनास्थलमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।