नेपाल रेमिट्यान्स (विप्रेषण)मा सबैभन्दा बढी निर्भर मुलुक बनेको छ । नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले नै ओगटेको पाइन्छ । अन्य मुलुकले भने रेमिट्यान्समाथिको निर्भरता घटाउँदै लगेको देखिएको छ । नेपाल भने कूल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा रेमिट्यान्सको प्रतिशत निरन्तर बढाउन उद्धत देखिन्छ । त्यति मात्र होइन यसले जति सको युवा शक्तिलाई बाहिर पठाउन खोजेको प्रष्ट हुन्छ । जसले गर्दा पछिल्लो समय देश छोड्ने युवाको संख्या दिनप्रतिदिन बढिरहेको छ । कोही अध्ययनका लागि बिदेसिँदै छन् भने कोही कामका लागि । बिदेसिने यी दुवै थरी युवा अवसरको खोजीमा छन् । देशमा अध्ययन र रोजगारीको उचित अवसर नपाउँदा त्यसको विकल्पका रूपमा विदेश रोजेका हुन् । राज्यले देशका तमाम युवालाई देशमै भविष्य सुरक्षित छ, देशमै केही गर्ने र केही बन्ने अवसर उपलब्ध छ भनेर आश्वस्त पार्न नसक्दाको परिणाम हो, युवापलायन । देशको राजनीतिलाई सबै कुराको मियो मानिएको छ । तर, यही मियो नै सबल र व्यवस्थित हुन नसक्दा अरू सबै कुरा भताभुङ्ग भएको छ ।
युवापलायनको असर देशको अर्थतन्त्र र सामाजिक क्षेत्रमा कुन रूपमा र कुन हदसम्म पर्न सक्छ भन्ने विषयमा राज्यबाट नीतिगत छलफल भई आवश्यक नीति, कार्ययोजना तथा कार्यक्रम तर्जुमा गर्ने र त्यसलाई कार्यान्वयन गर्ने काम हुन सकेको छैन । बिदेसिने युवाको संख्या बढेसँगै रेमिटेन्स आप्रवाह बढेको छ । देशको वर्तमान आर्थिक संरचनालाई दृष्टिगत गर्ने हो भने रेमिटेन्स आप्रवाहमा भएको वृद्धिलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । तर जनशक्ति बिक्री गरेर मात्रै आएको पैसाले अर्थतन्त्रलाई कति समय थेग्ला ? सरकार र राजनीतिक दलहरुले हालसम्म यसबारे चिन्तन गरेको पाइँदैन । विदेशमा आर्जन गरेको पैसाले अल्पकालीन रुपमा फाइदा गरे पनि त्यो टिकाउ हुँदैन् । जबसम्म देशको ढाड बलियो हुन्न, तबसम्म भाँचिएको ढाडमा पेटी बाँधेर एकछिन सञ्चो भए जस्तो हो रेमिटेन्स । समग्र देशको अर्थतन्त्र बलियो नभएसम्म वा वास्तविक उपचार नभएसम्म पेटी बाँधेर समस्या समाधान भएको ठान्न सकिन्न । रेमिटेन्सले हुने भए मेक्सिको कहाँ पुग्थ्यो, फिलिपिन्स कहाँ पुग्थ्यो, बङ्गलादेश कहाँ पुग्थ्यो । भारत र चाइना पनि आफ्नै देशमा सक्षम र दक्ष जनशक्तिलाई रोजगारी सिर्जना गरेर दक्ष जनशक्ति पलायन रोकेर सम्वृद्ध हुँदैछन् । रेमिटेन्सको ‘मूते न्यानो’मा भुलेर बस्ने हो भने त्यो देशको हालत कहिल्यै सुद्रिन्न । नत्र मेक्सिको धनी हुनुपर्ने थियो तर अमेरिका धनी र संमृद्ध छ । मेक्सिकनहरु अमेरिका नभए बाँच्न नसक्ने भएका छन् किनभने त्यहाँको अर्थतन्त्र रेमिटेन्स उन्मुख छ । यसर्थ मुलुक रेमिट्यान्समा मात्र भर पर्नु हुन्न ।