पाल्पा, मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउने चार सहिदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारी तवरबाटै प्रत्येक वर्ष औपचारिक कार्यक्रमहरु हुने गर्दछन् । सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, मङ्गलाल श्रेष्ठ र दशरथ चन्दले तत्कालीन निरंकुश जहानियाँ राणा शासन अन्त्यको अभियानमा समाहित भई प्राण आहुति दिएका थिए । राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको सम्झना गरिदैं छ । उनको योगदानको सम्झना गर्दै शालिकमा पुष्पगुच्छा अर्पण गरिने छ । शास्त्रीले टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका थिए । उनलाई तत्कालीन जहानियाँ राणा शासकले विस १९९७ माघ १० गते पचलीस्थित रूखमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो । सहिद सप्ताह अन्तर्गत माघ १६ गतेसम्म विशेषगरी चार सहिदले राणा शासन विरुद्धको संघर्षमा जीवनको बलिदान गरेको सम्झनामा उनीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिन्छ । कार्यक्रमअनुसार माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा र १५ गते मङ्गलाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको शोभाभगवतीमा श्रद्धाञ्जलि अर्पण गरिने छ । अन्तिम दिन माघ १६ गते बिहान सहिद स्मारक लैनचौरमा ज्ञात–अज्ञात सहिदप्रति विशेष सम्मान धुनसहित श्रद्धाञ्जलि अर्पण गरिनेछ ।
हरेक वर्ष सहिद सप्ताह मनाउने गरिए पनि सच्चा सहिदको उच्च कदर भने हुन सकेको छैन् । मुलुक र जनताको हकअधिकारका आन्दोलनमा सहादत प्राप्त गरेका अमर सहिदलाई राज्यले उचित कदर गर्नु त परको कुरा कस्तो व्यक्ति सहिद हुने भन्नेमा अझै स्पष्ट मापदण्ड समेत बनाउन सकेको छैन् । मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२/०६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन वात्तै बढेको छ । तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने स्पष्ट तथ्याड्ढ छैन । दोस्रो जनआन्दोलनयता अधिकांश सरकारले आफ्ना दल निकट कार्यकर्तालाई पक्षपातीरुपमै सहिद घोषणा गर्नुले सहिद परिवारमा निराशा छाएको छ भने सहिदप्रतिको सम्मानमा समेत आँच पुगेको राजनीतिक विश्लेषकको भनाइ छ ।