Shittalpati
शिक्षा दिवसको सन्दर्भ

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

हरेक वर्ष यो दिवस मनाइए पनि विश्वका २४ करोडभन्दा बढी बालबालिका र युवाहरु अझै शिक्षाको पहुँचभन्दा टाढा छन् । विशेषगरी, गरिब राष्ट्रहरुमा त त्यसको अनुपात बढ्दो क्रममा छ । यसले दिवसको औचित्य माथि नै प्रश्न चिन्ह खडा गरेको छ । सबैलाई शिक्षाको पहुँचमा ल्याउन नसक्दासम्म दिवसले सार्थकता पाउन सक्दैन । शिक्षा दिवस शैक्षिक क्षेत्रको गरिमामय पर्वको रूपमा मनाउनुपर्ने हो । तर हाम्रोमा विविध कारणले यसको सान्दर्भिकताबारे बेलाबखत चर्चा चुल्लिने गरेको छ । शिक्षा दिवसले विभिन्न कालखण्डमा विविध आरोह र अवरोहको कथा व्यथा खेप्दै आएको पाइन्छ । शिक्षा दिवसजस्तो राष्ट्रिय पर्वमा कुनै ठोस कामको सुरुवात गर्ने र त्यसको प्रत्यक्ष अनुभूति शिक्षक विद्यार्थीलगायतका सरोकारले गर्न पाउने खालको नारा तय गरिनु बुद्धिमानी हुन्छ । पछिल्ला वर्षको नारामा समावेश गरिएका शब्दहरू विगतका शिक्षा दिवसमा पनि कुनै न कुनै रूपमा समावेश भएकै पाइन्छन् । तर नारालाई सार्थकतामा बदल्ने कुनै रणनीतिक योजना सार्वजनिक गरिँदैनन । 

शिक्षा दिवस मनाएको भोलिपल्टदेखि नै नारामा प्रयोग गरिएका शब्दहरूको महत्व बिर्सने परम्परा नै बनेको छ । यो विडम्वनाको कुरा हो । शिक्षा क्षेत्रमा लामो समयदेखि कचल्टिएर बसेका कतिपय समस्या र चुनौतीहरूको समाधानका बाटो पहिल्याउने अवसरको रूपमा सदुपयोग गर्न चुक्नु हुन्न । शिक्षाबाट वञ्चित रहेका वर्ग, समुदायसम्म शिक्षाको पहुँच पुग्नु अहिलेको आवश्यकता हो । त्यो आवश्यकतालाई दिवसले सम्बोधन गर्नुपर्छ । शिक्षा प्राप्त गर्नु हरेक नागरिकको विशेषाधिकार भित्र पर्छ । त्यसबाट बञ्चित गराउने छूट कसैलाई पनि छैन । तसर्थ यसतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिए मात्र अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने निश्चित छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update