Shittalpati
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन गरिएका छ । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण भएको चार तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअलमार्फत उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ भवनमा बसेर काम गर्दा जुन उत्साह जनप्रतिनिधी, कर्मचारीहरुमा भएको छ त्यसै गरी जनतालाई खुसी पार्ने काम गर्न अनुरोध गरे । देश विदेशीको कव्जाबाट जोगाउने जिल्लाको रुपमा रहेको, पाल्पालाई पर्यटन, ढाका, करुवाबाट आर्थिक रुपमा माथि उठाउन सरकारको पहल रहने प्रधानमन्त्रीले ओलीले बताए । भवन उद्घाटन समारोहमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ भवनबाट जनताको मन जित्ने गरी काम गर्न आग्रह गरे । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मृत्युमार्गबाट चिनिएको सिद्धबावा क्षेत्रलाई जिवनमार्गको रुपमा सुरुङ्खमार्गले पहिचान दिएको बताए । कार्यक्रममा संघीय सांसद ठाकुर गैरे, लुम्बिनी प्रदेश सांसद तथा पूर्व मन्त्री वीरबहादुर राना लगायतले भवन निर्माणसँगै जनतालाई सहज सेवा प्रवाह गर्न पालिकालाई आग्रह गरे । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारु लगायत संघीय, प्रदेश सांसद, जिल्लाका राजनीतिक दलहरुले स्वागत गरेका थिए ।

बृहत् सभाहल सहितको भवनबाट सेवाग्राहीमा, सेवा प्रवाह गर्नका लागि सुविधा भएको पालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिइन् । दुई वर्ष लगाएर बगनासकाली गाउँपालिकाले लिफ्ट सहितको नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो ।गाउँपालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत गरी कुल छ करोड ४७ लाख ८४ हजार ८९ रुपैयाँमा प्रशासनिक भवन निर्माण भएको हो । दुई वर्षभित्र काम सकिने गरी वि.स. २०७८ फागुन ८ गते ठेकेदार कम्पनी न्यू ड्राईगन आर एण्ड आर जेभीसँग भवन निर्माणका लागि सम्झौता भएको थियो । सम्झौता अनुसार समयमै भवन निर्माणको काम सकिएको पालिकाले जनाएको छ । २०७८ चैत २५ मा पालिकाका संस्थापक अध्यक्ष कृष्ण बस्याल र तत्कालिन उपाध्यक्ष तथा हालका अध्यक्ष सरस्वती चिदीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका थिए । पालिका भवन निर्माणका लागि जग्गा अभाव हुँदा भवन निर्माणमा हुन नसकेका बेला तत्कालिन अध्यक्ष बस्यालको सक्रियतामा जग्गाको व्यवस्थापन गरी भवन निर्माणको काम अगाडि बढेको थियो । भवन बनाउन भैरव मन्दिर सामुदायिक वनको गौचरनको जग्गा २५ वर्ष लिजमा लिइएको छ । गाउँपालिकाले भोगचलन गर्ने १३ रोपनी तीन आना जग्गामध्ये ११ आना जग्गाभित्र चार हजार १० वर्गफिटमा प्रशासकीय भवन निर्माण भएको हो । उक्त जग्गा नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ चैत ३० गतेको निर्णय बमोजिम मालपोत कार्यालय पाल्पाबाट २०७८ साउन ४ गते गाउँपालिकालाई प्राप्त भएको हो । भवन अपाङ्गतामैत्री र माथिल्लो तलामा जानआउनका लागि लिफ्टको व्यवस्था गरिएको उपाध्यक्ष हरी प्रसाद पाठकले बताए । नयाँ भवनबाट सेवा प्रवाह प्रभावकारी बनेको र सबै पालिकावासीलाई पायक परेको उनको भनाई छ ।

साढे छ वर्षसम्म टहराबाट सेवा दिँदा समस्या भोगेका कर्मचारीले नयाँ भवन बनेपछि सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुगेको बताएका छन् । भवन र कोठा पर्याप्त नहुँदा कतिपय शाखाले एउटै कोठाबाट सेवा दिनु परेको अवस्थाको अन्त्य भएको प्रमुख प्रशासकिय अधिकृत  खेमराज छिनालले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update