Shittalpati
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

पाल्पा, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग (ब्रेक थ्रु) छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्जुअलमार्फत शुक्रबार सुरुङ छिचोल्नका लागि स्विच थिचेपछि पाल्पा र बुटवल दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री ओलीको उपस्थितिमा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने भनिए पनि कार्यक्रमको अन्तिममा आएर ओलीको अस्वस्थताका कारण भर्जुअलमार्फत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ । यसअघि माघ ८ गतेलाई तय भएको सुरुङमार्ग ‘ब्रेक थ्रु’ कार्यक्रम ११ गतेलाई सारिएको थियो । ‘ब्रेक थ्रु’ लाई सेरेमोनीका रूपमा मनाइएको छ । छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।ब्रेक थ्रु उत्सव समारोहलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक सुरुङमार्गमा प्रवेश गरेको बताएका छन्  । उनले जोखिम क्षेत्रहरुको पहिचान गरी सुरुङ बनाउने काम धमाधम भइरहेको भन्दै सिद्धबाबाको सुरुङमार्गको बाँकी काम समयमै हुने उल्लेख गरे । प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रमा हरेक वर्ष हुने सवारी दुर्घटना र पहिरोमा पर्ने समस्याबाट नागरिकलाई मुक्त गराउन सुरुङ मार्ग निर्माण गरिएको बताए । सुरुङ बनेपछि पाल्पा, पोखरा लगायत जिल्ला आवत जावत गर्न सुक्षित हुने र कुनै समस्या नआउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे । समारोहमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पुर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल,लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतका जिल्लाका विभिन्न राजनीतिक दलहरु, राष्ट्र सेवकहरुको उपस्थित रहेको थियो ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ  । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नेुपर्ने बाध्यतामा रहेका यात्रुहरू सुरुङमार्गको काम अन्तिमचरणमा पुग्न थालेपछि वर्षौदेखि सुरुङ बन्ने सपना विपनामा परिणत हुनेमा ढुक्क भएका छन् । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याउने गर्दछ । दैनिक हजारौं सवारीका साधन गुड्ने यो क्षेत्रमा अहिलेसम्म सयौं मानिसले ज्यान गुमाएका छन् । हिउँदमा समेत पहिरो खसेर कैयौ यात्रुले ज्यान गुमाउनु परेको इतिहास साक्षी छ । बर्षामा यो सडक क्षेत्र त्यसैपनि अति जोखिममा छ ।

यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरुङ मार्गको  हालसम्म भौतिक प्रगति ४० प्रतिशत भएको आयोजनाकी इन्जिनीयर सविता ज्ञवालीले बताईन् । सुरुङभित्रको भुइँ र भित्तामा बिजुलीबत्ती जडान ,गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलान, सुरुङमार्गको उत्तर र दक्षिण भागमा ‘रक सेड’ र ‘रक नेट’को काम अघि बढाइने उनको भनाई छ ।

सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले  सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुने छ । स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको दुई हजार सात सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो । सोही सुझावअनुसार सुरुङमार्ग निर्माणको निर्णय भएको हो । विशाल चट्टानले युक्त भिरमा रक सेटअर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको हो । २०७६ मंसिर २ गते सुरुङमार्गका लागि १० अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको थियो । हाल यहाँ दैनिक ४० जना चिनियाँ र नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरी एक सय ५० जनाले नियमित काम गरिरहेका छन् । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् आयोजनाको छेउमा निस्किनेछ ।

‘मेरो जिम्मेवारी अझै पुरा भएको छैन्’

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि सुरुका दिनदेखि नै पहल गर्दै आएका पूर्वमन्त्री एवं नेकपा समाजवादीका नेता सोमप्रसाद पाण्डेयले सुरुङमार्गको ब्रेक थ्रु भए पनि आफ्नो जिम्मेवारी अझै पुरा नभएको बताएका छन् । शुक्रबार उनले सामाजिक सञ्जालमार्फत ब्रेक थ्रु हुँदा अत्यन्त हर्षित भएको तर पाल्पाली जनताको प्रतिनिधिको हिसाबले जिम्मेवारी पुरा अझै नभएको बताएका  छन् । उनले भनेका  छन् ‘म जनप्रतिनिधि भएको समयमा र नभएको समयमा पनि मलाई यो विषय अत्यन्तै चिन्ता र चासोको विषय रह्यो । पाल्पाका समकालीन राजनीतिज्ञहरुमध्ये सबैभन्दा बढी यो बाटोको प्रयोग गर्ने म हुँ । मैले २०७४ सालको माघ ८ गते तत्कालीन भौतिक योजनामन्त्री मा. रघुवेर महासेठ ज्यूलाई अनुरोध गरी यो ठाउँको स्थलगत निरीक्षण गराएको हुँ, त्यो समयमा हालका  मन्त्रालयका सचिव केशव शर्मा समेत  सहभागी हुनुहुन्थ्यो । मैले सुरुङ्गमार्गको प्रस्ताव गर्दै गर्दा त्यतिखेर मेरा साथीहरु सम्भव छ र ? भन्नुहुन्थ्यो । त्यो समयमा हामीसँग सुरुङ सम्बन्धी अध्ययन गर्ने प्राविधिकको कमी भएकोले शर्माज्यूकै राय अनुसार स्वीस दूतावासमा प्राविधिक माग गरेको हुँ, त्यसपछि स्विस कन्सल्टेन्टले अध्ययन सुरु गरेको हो । सम्बन्धित सडक विभागबाट बजेट स्रोत सुनिश्चित भएपछि मात्र टेन्डर निस्कने भएपछि प्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्रीसँग २०७६ /१/ २६ मा बजेट माग / ताकेता गरेको हुँ । २०७६ सालको मङ्सिर २ गते सिद्धबाबा सुरुङ्ग मार्गको लागि १० अर्ब १५ करोड बजेट सुनिश्चित भएको हो । मैले सम्मानित सदन, सडक  बिभाग, भौतिक पुर्वाधार मन्त्रालयमा सिद्धबाबा सुरुङ मार्गको तत्काल काम सुरु गर्नको लागि पटकपटक माग राखेको हुँ ।  यो शुरूवात नभएमा सदनमै अनसन बस्छु समेत भनेको व्यहोरा सबैलाई अबगत छ । आज ४० प्रतिशत भौतिक प्रगति भइसकेको अवस्थामा यसको ब्रेक थ्रु भइरहँदा म अत्यन्त हर्षित छु  । तर म समग्र पाल्पाली जनताको प्रतिनिधिको हिसाबले मेरो जिम्मेवारी पुरा भइसकेको ठानेको छैन । जुन दिन यो सुरुङमार्गबाट गाडीहरू ओहोरदोहोर हुनेछन् त्यो दिन म एकपटक फेरि खुसी हुनेछु ।’

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update