Shittalpati
समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले  समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूूर्ण रहेको बताएका छन् । शुक्रबार काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूर्ण रहेको बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका सभापति श्रेष्ठले  भूतपूर्व सैनिक सर्वसाधारण नागरिक मात्र नभई राज्यलाई आवश्यक परेको अवस्थामा स्वतः स्फूर्त योगदान दिन सक्ने तालिम प्राप्त जनशक्ति भएको पनि उल्लेख गरे । उनले अवकाश प्राप्त सकल दर्जाका सैनिकहरुलाई सेवाकालमा आर्जित ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर, समाजको विकास र उत्थानमा लगाई परेको समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली काँग्रेसको संगठनलाई बलियो बनाएर लैजाने दिशामा आफूलाई अग्रसर गर्न अनुरोध गरे । सभापति श्रेष्ठले काँग्रेसको संगठन निर्माणमा समेत भूपू सैनिकको महत्वपूर्ण भूमिका रहेको भन्दै अब नागरिकको जीवनस्तर उकास्न समेत लाग्नु पर्ने धारणा व्यक्त गरे । उनले संघमा आवद्ध भूपुहरुको योगदानको पार्टीले उच्च मूल्यांकन गर्दै संगठनका विभिन्न तह र संरचनामा समेत उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्दै आएको बताए । सभापति श्रेष्ठले भने‘ पछिल्लो समयमा सैनिकबाट अवकाश भएर आएका नयाँ भूपुहरु लोकतान्त्रिक विचारप्रति नजिक हुन सकेका छैन् उनीहरुलाई काँग्रेसको विचार, आस्थाका बारेमा जानकारी गराउनुपर्छ ।’ उनले संघमा आवद्ध सबै भूपु सैनिकहरुलाई गाउँ– गाउँमा पुगेर काँग्रेसको विचार र आस्थाका बारेमा जानकारी गराउन समेत आग्रह गरे । सभापति श्रेष्ठले आत्मियतासहितको एकता अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै संगठन निर्माणमा एक भएर लाग्नुपर्नेमा जोड दिए । उनले संगठनलाई बलियो र फराकिलो बनाएर लैजान राजनीतिक सुझ, बुझका साथ लोकतान्त्रिक आस्थाप्रति समर्पित हुन समेत भूपू सैनिकहरुलाई आग्रह गरे । सभापति श्रेष्ठले भने‘ केही साथीहरुलाई कम्युनिष्टहरुले दिग्भ्रमीत पारेका छन् । उनीहरुलाई काँग्रेसको विचारका बारेमा बुझाउन जरुरी छ त्यसतर्फ संघमा आवद्ध साथीहरु सक्रिय भएर लागौं ।’

कार्यक्रममा संघा पूर्व केन्द्रीय सदस्यीय कर्णेल धनबहादुर मास्के राना, केन्द्रीय प्रतिनिधि मेहर सिं कुंवर, संघका लुम्बिनी प्रदेश अध्यक्ष अनिल कुमार थापा, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य राम कार्की, प्रजातान्त्रिक सेनानी संघ पाल्पाका अध्यक्ष यमलाल तिमिल्सीना, लोकतान्त्रिक आदीवासी जनजाति महासंघ नवलपरासीका प्रतिनिधि टेकबहादुर गुरुङ, संघका पूर्व अध्यक्ष विष्णु गाहा, सल्लाहकार क्याप्टेन अमर थापा लगायतले लगायतले आ–आफ्ना धारणा राखेका थिए । संघका  अध्यक्ष कमल विक्रम खाँणको अध्यक्षता, उपाध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङीको स्वागत, सचिव हिरा सिं रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update