माघ १० गतेदेखि सहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ । सहिदहरुको स्मरणमा १६ गतेसम्म विभिन्न कार्यक्रमहरु हुने गर्दछन् । सहिद सप्ताह हालका दिनमा केवल औपचारिकतामा मात्रै सीमित हुँदै गएको स्थिति विद्यमान रहे पनि सप्ताहभरि नै सहिदहरुको मात्रै विशेष चर्चा–परिचर्चा हुनुलाई भने एकप्रकारले अर्थपूर्ण नै मान्नुपर्ने हुन्छ । सच्चा सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरत चन्दको स्मरण गर्दै हरेक वर्ष सप्ताहव्यापी कार्यक्रमहरु गर्ने गरिएको छ । सहिदको नाममा कार्यक्रमहरु भए पनि सच्चा सहिदको सम्मान भने हुन सकेको छैन् । यो दुखको कुरा हो ।
आज सच्चा सहिदलाई नक्कली सहिदले विस्थापित मात्र होइन गिज्याइरहेको अवस्था छ । मुलुक र जनताको हकअधिकारका आन्दोलनमा सहादत प्राप्त गरेकामध्ये कसलाई सहिद भन्नेमा अझै स्पष्ट मापदण्ड बन्न सकेको छैन् । मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२/६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन ह्वात्तै बढेको छ । तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने स्पष्ट तथ्याङ्क छैन् । यो विडम्बना हो । यद्यपि, केही वर्षअघि हजारौँको संख्यामा सहिदका नाममा लामो लिस्ट सार्वजनिक नभएको भने होइन । सेवा र हितका लागि सहजै जीवन त्याग गर्ने खास सहिदहरुको घोर आपमान भएको छ । यो दुखद् हो । सहिदको सच्चा सम्मान नहुँदा खास व्यक्ति र तिनका परिवारले अभिशप्त हुनु परिरहेको अहिलेको तीतो यथार्थ हो । सहिदहरूलाई ‘सहिद दिवस’को नाममा एक दिन फूलमाला चढाएर, एक मिनेट मौन धारण गरेर र चर्को भाषण छाटेर सहिदहरूको सच्चा अर्थमा सम्मान होला ? क्यालेन्डरमा सीमित सहिद दिवसले उनीहरूले देशका लागि बगाएको रगतको सही मूल्यांकन र सहिदले देखेका सपना पक्कै पनि साकार हँुदैन । जसको बलिदानले देशको बागडोर हातमा परेको छ, उनीहरूकै सपनालाई लत्याएर पक्कै पनि सहिदको आत्माले शान्ति पाउने छैन् । तिनले देखेको समुन्नत राष्ट्र निर्माणको सपनालाई साकार पार्न सकेमात्र उनीहरूप्रति गरिएको सच्चा श्रद्धाञ्जलि ठहरिनेछ । तसर्थ सहिद परिवारको उचित व्यवस्थापन र सहिदका अपुरा सपना पूरा गर्न सबै गणतान्त्रिक शक्तिहरू एकतावद्ध भई समृद्धिको यात्रामा हातेमालो गर्न सकेमा मात्र सहिद सप्ताह मनाउनुले सार्थकता पाउनेछ । अन्यथा कर्मकाण्डी मात्र हुने छ ।