जनवरी महिनाको अन्तिम आइतबार अर्थात् आज विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोग विरुद्ध मनाउन थालिएको हो । नेपाल सरकारले सन् २०१० मा नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरे पनि नेपालमा कुष्ठरोगीको संख्या बढ्दो क्रममा छ । रोग निवारणमा सरकारले प्राथमिकता नदिँदा संसारकै सबैभन्दा पुरानो मानिएको यो रोगका बिरामी घट्नुको साटो बढिरहेका छन् । यो आफैमा दुःखद् हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा एक जना पनि बिरामी नहुनुलाई जनस्वास्थ्य समस्या नभएको मानिन्छ । तर नेपालमा भने कुष्ठ रोगीको संख्या धेरै छ । प्राथमिकतामा नपर्दा सन् २०२० सम्म देशबाट कुष्ठरोग उन्मूलन गर्ने सरकारको रणनीति असफल भएको छ ।
कुष्ठरोग माइक्रोब्याकटेरियम लेप्री नामक किटाणुबाट हुने दीर्घ संक्रामक रोग हो । लामो समयसम्म आफ्नो सान्निध्यमा भएका व्यक्तिको श्वासप्रश्वासको माध्यमबाट यो अन्य मानिसहरूमा सर्दछ । तर, छुँदैमा, हात मिलाउँदैमा भने यो रोग सर्दैन । करिब ८० प्रतिशतमा यो रोग आफैं ठिक हुन्छ भने रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका करिब २० प्रतिशत मानिसहरूलाई उपचार आवश्यक पर्छ । उनीहरूमा यो रोग विभिन्न प्रकारबाट देखिन सक्छ । माइक्रोब्याकटेरियम लेप्रीलाई प्रयोगशालामा सामान्य रुपमा उमार्न सकिँदैन र यसलाई मुसाको खुट्टामा मात्र उमार्न सकिन्छ । कुष्ठरोगको असर छालामा मात्र नभई, नसा, आँखा, हाडजोर्नी, अण्डकोष, कलेजो, मिर्गौला, मुटु र फोक्सो समेत सुन्निन सक्छ । तर कुष्ठरोग समयमै पत्ता लगाई उपचार गरेमा कुरूप तथा अङ्गभङ्ग हुनबाट जोगिनुका साथै रोग निको हुनेमा सन्देह छैन । हाम्रो नेपाली समाजलले अझै पनि यो रोगलाई पूर्वजन्मको पाप भएको भन्दै अपमान गर्ने गर्दछन् । यो पूर्व जन्मको पाप होइन, एक किसिमको रोग मात्र हो । जुन औषधि उपचार गरे निको हुन्छ । तसर्थ दिवसको अवसरमा कुष्ठरोगीहरुलाई तिरस्कार होइन सम्मान गरौं र औषधि उपचार गरे निको हुन्छ भन्ने सचेतना जगाऔं ।